रोल्पा, १६ फागुन । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक जटिल घडीबाट गुज्रिरहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनतामाथि गम्भीर चुनौती उभिएको दाबी गर्नुभएको छ। रोल्पाको सदरमुकाम लिबाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले विदेशी शक्ति र तिनका स्वार्थसमूहका कारण देश अप्ठ्यारो परिस्थितिमा पुगेको आरोप लगाउनुभयो।
“असहज परिस्थितिमा निर्वाचन हुँदैछ। राष्ट्र संकटको संघारमा उभिएको छ। विदेशी शक्ति र तिनका दलाल प्रवृत्तिले देशको स्वाधीनतामाथि हस्तक्षेप गर्न खोजिरहेका छन्,” पूर्वी रुकुमबाट उम्मेदवार समेत रहनुभएका प्रचण्डले भन्नुभयो, “राष्ट्रलाई जोगाउने लोकतान्त्रिक उपाय भनेको निर्वाचन नै हो।”
उहाँले निर्वाचनलाई केवल सत्तापरिवर्तनको प्रक्रिया नभई राष्ट्रिय अस्तित्व र आत्मसम्मानको रक्षा गर्ने माध्यमका रूपमा व्याख्या गर्नुभयो। स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन सुनिश्चित गर्न सरकार, सुरक्षा निकाय तथा निर्वाचन आयोग जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो।
“निर्वाचन पारदर्शी र विश्वसनीय हुनुपर्छ। राज्यका सम्पूर्ण संयन्त्रले राष्ट्रको स्वाधीनता र जनविश्वासको रक्षा गर्नुपर्ने दायित्व निर्वाह गर्नुपर्छ,” उहाँले उल्लेख गर्नुभयो। सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीप्रति पार्टीको भरोसा कायम रहेको जनाउँदै उहाँले भदौ २३ र २४ गतेका घटनाले सबैलाई सतर्क बनाएको टिप्पणी गर्नुभयो।
‘जेनजी आन्दोलन’पछिको दमन र विध्वंसप्रति संकेत गर्दै उहाँले अतिवादका दुवै रूपको प्रतिवाद गर्न सम्पूर्ण नेपालीलाई अपिल गर्नुभयो। असहज अवस्थामा सम्पन्न हुन लागेको निर्वाचनबाट नयाँ समाजवादी यात्राको आधार निर्माण गर्ने आफ्नो लक्ष्य रहेको उहाँको भनाइ थियो।
युद्धकालीन सन्दर्भ स्मरण गर्दै उहाँले रोल्पा, रुकुम, जाजरकोट र सल्यानलाई परिवर्तनको आधार इलाका रहेको उल्लेख गर्नुभयो। “नयाँ समाजवादी मार्गको थालनी यही भूमिबाट हुनेछ,” उहाँले दाबी गर्नुभयो, “त्यसकै लागि म पूर्वी रुकुमबाट निर्वाचनमा सहभागी भएको हुँ।”
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रोल्पाबाट विजयी भएपछि पहिलो पटक प्रधानमन्त्री बनेको प्रसंग उल्लेख गर्दै उहाँले आफू रोल्पाली जनताप्रति ऋणी रहेको बताउनुभयो। नयाँ राजनीतिक परिवेशमा आधार इलाकाको थप सशक्त समर्थन आवश्यक रहेको उहाँको भनाइ थियो।
राजनीतिक प्रणाली परिवर्तनबारे धारणा राख्दै उहाँले प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा आफूहरू दृढ रहेको स्पष्ट पार्नुभयो। “हामी महँगो र जटिल निर्वाचन प्रणालीका पक्षमा होइनौं। प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक प्रणालीमार्फत सुशासन र स्थायित्व सम्भव छ,” उहाँले भन्नुभयो।
सभामा पूर्व अर्थमन्त्री तथा नेकपाका नेता वर्षमान पुन लाई रोल्पा क्षेत्र नं. १ बाट विजयी गराउन उहाँले मतदातासँग आग्रह गर्नुभयो। “वर्षमान पुन मेरो विश्वासको पात्र हुनुहुन्छ। उहाँलाई विजयी बनाएर पठाउनुस्, जिम्मेवारी मैले लिन्छु,” उहाँले भन्नुभयो।
उम्मेदवार पुनले आफ्नो कार्यकालमा रोल्पामा पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गर्दै अधुरा योजना सम्पन्न गर्न पुनः जनादेश आवश्यक रहेको बताउनुभयो।
हेलिकप्टरमार्फत लिबाङ पुग्नुभएका प्रचण्डले करिब २० मिनेट मन्तव्य दिएपछि रुपन्देही प्रस्थान गर्नुभएको थियो। कार्यक्रममा विभिन्न गाउँबाट बस, जीप तथा मोटरसाइकलमार्फत सर्वसाधारणको सहभागिता रहेको थियो।
चुनावी सरगर्मी तीव्र बन्दै गएको सन्दर्भमा प्रचण्डको अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस उत्पन्न गरेको छ। विदेशी हस्तक्षेपको आरोप, प्रणाली परिवर्तनको प्रस्ताव र समाजवादी मार्गको उद्घोष—यी सबै विषयले आगामी निर्वाचनमा मतदाताको धारणा कता मोडिन्छ भन्ने प्रश्नलाई थप पेचिलो बनाएको विश्लेषण गरिएको छ।









प्रतिक्रिया