‘जीवन–मरणको चुनाव’ भन्दै प्रचण्डको आह्वान : दुई अतिवादविरुद्ध जनमत माग

काठमाडौं, १५ फागुन । पुष्पकमल दाहालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सामान्य रूपमा नलिन पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ।

काठमाडौंमा आयोजित चुनावी कार्यक्रममा नुवाकोट र काठमाडौंका नेताकार्यकर्तालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक दाहालले यो निर्वाचन विशिष्ट प्रकृतिको रहेको उल्लेख गर्नुभयो। “यो सामान्य निरन्तरताको निर्वाचन होइन, विशेष चरित्रको निर्वाचन हो,” उहाँले भन्नुभयो, “यसलाई जीवन–मरणको रूपमा लिएर काम गर्नुपर्छ।”

उहाँले २३ गतेको ‘जेनजी आन्दोलन’ मा भएको दमनपछि उत्पन्न परिस्थितिमा यो निर्वाचन हुन लागेको दाबी गर्नुभयो। तत्कालीन सरकारले युवामाथि नरसंहार गरेको आरोप लगाउँदै उहाँले त्यसपछिको राजनीतिक अवस्थाले निर्वाचनलाई विशेष बनाएको बताउनुभयो।

भदौ २४ गतेको विध्वंसलाई देशी–विदेशी प्रतिक्रियावादी शक्तिको चलखेलको परिणाम भएको टिप्पणी गर्दै उहाँले अहिलेको निर्वाचन दुई अतिवादविरुद्धको जनमत संग्रहजस्तै भएको धारणा राख्नुभयो। “एकातिर युवामाथि दमन गर्ने अहंकारी प्रवृत्ति, अर्कोतिर विध्वंस मच्चाउने प्रतिक्रियावादी शक्तिविरुद्धको चुनाव हो,” उहाँले भन्नुभयो।

दुवै प्रवृत्तिविरुद्ध आफ्नो पार्टी स्पष्ट रूपमा उभिएको दाबी गर्दै दाहालले यो निर्वाचन राष्ट्र, लोकतन्त्र र लामो संघर्षबाट प्राप्त अधिकारको रक्षा गर्ने अवसर भएको उल्लेख गर्नुभयो। “राष्ट्रको स्वाधीनता र जनअधिकार जोगाउन हामीले पार्टी बनाएका हौँ,” उहाँले भन्नुभयो।

संयोजक दाहालले आफ्नो पार्टी यस निर्वाचनमा एकताबद्ध रहेको र जनस्तरमा उत्साह तथा उभार देखिएको दाबी समेत गर्नुभयो।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार  १५ : ५५  बजे