सिन्धुली, ११ फागुन । सिन्धुलीको मरिण गाउँपालिका–४ साहानस्थित निर्माणाधीन हिमालयन फुड कम्पनीमा चिनियाँ र स्थानीय कामदारबीच झडप हुँदा सात जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जना चिनियाँ र दुई जना स्थानीय कामदार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख ९एसपी० लालध्वज सुवेदीका अनुसार मरिण गाउँपालिका–६ धमिले बस्ने ३० वर्षीय नवराज बम्जनलाई कामबाट हटाएको विषयमा विवाद उत्पन्न भएपछि सोमबार बिहान करिब पौने ९ बजे झडप भएको हो।
झडपमा घाइते भएका नवराज बम्जनको दायाँ आँखासहित दायाँ खुट्टामा चोट लागेको छ। उनलाई थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली रिफर गरिएको प्रहरीले जनाएको छ। यस्तै उदयपुरको कटारी नगरपालिका–१२ का २२ वर्षीय गोकर्ण कटुवालको टाउकोमा चोट लागेको छ।
त्यसैगरी कम्पनीमा कार्यरत पाँच जना चिनियाँ कामदार पनि घाइते भएका छन्। घाइते हुनेहरूमा ३८ वर्षीय याङ, ४५ वर्षीय याङ हाईबो, ४० वर्षीय छ्याङ छोङ, ४६ वर्षीय चुजेन र ३१ वर्षीय लेउसेन्सी रहेका छन्। उनीहरूको टाउको तथा हातमा चोट लागेको छ। घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भइरहेको छ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय कपिलाकोटबाट १० जना र निर्वाचन सुरक्षामा खटिएका १५ जना गरी २५ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। थप अप्रिय घटना हुन नदिन आवश्यक सुरक्षा व्यवस्था कडा पारिएको र घटनाबारे अनुसन्धान सुरु गरिएको एसपी सुवेदीले जानकारी दिनुभयो ।









प्रतिक्रिया