काठमाडौं, २२ माघ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा एकैपटक सम्पन्न हुने स्पष्ट गर्नुभएको छ। भक्तपुरस्थित जनक शिक्षामा भइरहेको मतपत्र छपाइको निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले निर्वाचन दुई चरणमा नहुने स्पष्ट पार्नुभएको हो।
प्रधानमन्त्री कार्कीले ढुक्क हुन आग्रह गर्दै भन्नुभयो, “निश्चिन्त हुनुहोस्, निर्वाचन एकैदिन हुन्छ। दुई चरणमा कहीँ पनि हुँदैन। तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुन्छ।”
उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको दिन मौसमसमेत अनुकूल रहने दाबी गर्नुभयो। “मैले गर्दै आएको सबै काम क्रमशः राम्रो हुँदै गइरहेको छ। सो दिन निर्वाचन पनि हुन्छ, मतदान पनि हुन्छ र मतपरिणाम पनि सार्वजनिक हुन्छ। त्यसपछि म जिम्मेवारी हस्तान्तरण गरेर आफ्नो घर फर्किन्छु,” उहाँले भन्नुभयो।
प्रधानमन्त्री कार्कीले मतपत्र छपाइको कार्य उत्साहजनक रूपमा अघि बढिरहेको बताउँदै छपाइको अवस्था अवलोकन गर्दा अब निर्वाचनमा मतदान मात्र बाँकी रहेको अनुभूति भएको उल्लेख गर्नुभयो।
यसअघि प्रधानमन्त्री कार्कीले नवलपरासीमा आयोजित कार्यक्रममा निर्वाचन दुई चरणमा हुन सक्ने सम्भावना औंल्याउनुभएको थियो। तर प्रमुख राजनीतिक दलका नेताहरूले दुई चरणमा निर्वाचन हुनु स्वीकार्य नहुने प्रतिक्रिया जनाएपछि उक्त विषयमा व्यापक चर्चा भएको थियो।









प्रतिक्रिया