भयरहित मतदान सुनिश्चित गर्न सञ्चारमाध्यमको भूमिका निर्णायक : उपराष्ट्रपति यादव

काठमाडौं, १७ माघ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मूल आधार भएको बताउनुभएको छ।

शनिबार सिंहदरबारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले निर्वाचनलाई विश्वसनीय, पारदर्शी र शान्तिपूर्ण बनाउन सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार सही सूचना प्रवाह र नागरिक सचेतनाको अभिवृद्धिबिनासम्म लोकतान्त्रिक अभ्यास मजबुत हुन सक्दैन।

उहाँले फागुन २१ गते हुने निर्वाचनमा मतदाताले कुनै दबाब, त्रास वा प्रभावबिनै आफ्नो मताधिकार प्रयोग गर्न पाउने वातावरण निर्माण गर्नु सबै सरोकारवालाको साझा जिम्मेवारी भएको धारणा व्यक्त गर्नुभयो।

निर्वाचनसम्बन्धी भ्रम र गलत सूचना फैलिन नदिन सञ्चारमाध्यमले सत्य, निष्पक्षता र जनमुखी दृष्टिकोणलाई आत्मसात गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। शान्तिपूर्ण वातावरण निर्माण, नागरिक शिक्षामा योगदान र लोकतान्त्रिक मूल्यको संरक्षणमा पत्रकारिताले अग्रभूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो।

उपराष्ट्रपति यादवले पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भका रूपमा स्थापित गर्दै समावेशिता, समान अवसर र सबै वर्गको आवाजलाई प्रतिनिधित्व गर्ने दायित्व दृढतापूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो। साथै, राष्ट्र निर्माणको अभियानमा सत्य र निष्पक्ष पत्रकारिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

डिजिटल माध्यमको बढ्दो प्रभावप्रति ध्यानाकर्षण गराउँदै उहाँले आजको परिवेशमा सञ्चारमाध्यमले आधुनिक प्रविधिको उपयोग गर्दै जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। राष्ट्रको आवाजलाई सशक्त र जिम्मेवार ढंगले प्रस्तुत गर्नु सञ्चारमाध्यमको प्रमुख दायित्व भएको उहाँको भनाइ थियो।

प्रकाशित मिति: १७ माघ २०८२, शनिबार  १६ : १२  बजे