सुर्खेत,१७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता श्री बालेन्द्र शाह (बालेन) लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा सञ्चालन गरिएको चुनावी अभियान सम्पन्न गरी आज (शनिबार) काठमाडौं फर्किनु भएको छ।
लुम्बिनी प्रदेशको बाँके र बर्दिया हुँदै सुदूरपश्चिम प्रदेशमा विभिन्न कार्यक्रम सम्पन्न गर्नु भएपछि उहाँ शुक्रबार दिउँसो करिब १२ बजे कर्णाली प्रदेशअन्तर्गत दैलेख जिल्ला आइपुग्नु भएको थियो। त्यसपछि आज बिहान सुर्खेत विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत उहाँ काठमाडौं फर्किनु भएको हो।
दैलेखमा स्थानीयको असन्तुष्टि
दैलेख आगमनका क्रममा जिल्लाको पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका अन्तर्गत राकम कर्णालीमा स्थानीय नागरिक, पार्टीका उम्मेदवार तथा नेता–कार्यकर्ता लामो समयदेखि वरिष्ठ नेता शाहको प्रतीक्षामा बसेका थिए। तर समय अभावको कारण देखाउँदै उहाँ राकम कर्णालीमा नरोकी दुल्लु नगरपालिकास्थित रास्वपाको पार्टी कार्यालय पुग्नु भयो।
पार्टी कार्यालयको उद्घाटन कार्यक्रम सम्पन्न गरेलगत्तै उहाँ सुर्खेततर्फ प्रस्थान गर्नु भएको थियो। यसै क्रममा चामुण्डा गाउँपालिकाको जम्बुकाँधलगायत विभिन्न स्थानमा भेटघाटको अपेक्षामा बसेका स्थानीयवासी निराश भएका छन्।
रास्वपाका उम्मेदवार, समर्थक तथा नेता–कार्यकर्ता ३–४ घण्टा गाडी चढेर राकम कर्णाली पुगे पनि वरिष्ठ नेता शाह गाडीबाट नओर्लनु भएपछि उनीहरूले गाडीको झ्यालबाटै ‘दर्शन’ गर्नुपरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
एक स्थानीयले भिडियो सन्देशमार्फत भन्नु भयो, “बिहानदेखि स्थानीय जनता कुरेर बसेका थिए, तर उहाँ आउनुभयो र गइहाल्नुभयो। यहाँका जनताको कुरा सुन्ने समय पनि दिनु भएन।”
स्थानीयले यति छोटो समयसमेत नदिने नेताले भविष्यमा ठूलो जिम्मेवारी सम्हाल्दा के गर्लान् भन्ने प्रश्न पनि उठाएका छन्।
उम्मेदवारद्वारा माफी
यस घटनाप्रति रास्वपाबाट दैलेख निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार नन्दकिशोर बस्नेतले सार्वजनिक रूपमा माफी माग्नु भएको छ।
उहाँले भिडियो सन्देशमार्फत भन्नु भयो, “शुक्रबार बिहानै वरिष्ठ नेता बालेन शाहको कार्यक्रम तालिकामा अचानक परिवर्तन भयो। उहाँसँगै आउनु भएको एक जना सदस्य बिरामी परेपछि समय व्यवस्थापनमा समस्या आएको हो। यसबाट स्थानीयमा पर्न गएको असहजताप्रति मेरो व्यक्तिगत तथा रास्वपा दैलेखको तर्फबाट माफी चाहन्छु।”
उहाँका अनुसार, आगामी दिनमा पार्टी सभापति रवि लामिछानेसहित दैलेख आएर जनतासँग प्रत्यक्ष भेटघाट गर्ने प्रतिबद्धता वरिष्ठ नेता शाहले व्यक्त गर्नु भएको छ।
सुर्खेत हुँदै काठमाडौं
शुक्रबार राति करिब ८ बजे दैलेखको दुल्लु नगरपालिका पुग्नु भएका वरिष्ठ नेता शाह सोही राति सुर्खेत झरेर सिद्धार्थ होटलमा बास बस्नु भएको थियो। आज बिहान करिब ८ बजे होटलबाट प्रस्थान गरी वीरेन्द्रनगर नगरपालिका अन्तर्गत दैलेखरोड चोकस्थित पार्टी कार्यालय पुगेर घण्टी बजाउँदै समर्थकप्रति अभिवादन गर्नु भयो।
त्यसपछि उहाँले सुर्खेतको प्रसिद्ध धार्मिक स्थल देउती बज्यै मन्दिरमा दर्शन गर्नुभयो। मन्दिर दर्शनपछि सुर्खेत विमानस्थल पुग्नु भएका उहाँ बुद्ध एयरको विमानबाट काठमाडौं प्रस्थान गर्नु भयो।
आज बिहान करिब ११ बजे वरिष्ठ नेता शाह काठमाडौं अवतरण गर्नु भएको छ।









प्रतिक्रिया