काठमाडौं, १६ माघ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई लिम्पियाधुरा, कालापानी र लिपुलेकजस्ता संवेदनशील राष्ट्रिय मुद्दामा स्पष्ट र आधिकारिक धारणा सार्वजनिक गर्न आग्रह गर्नुभएको छ।
शुक्रबार काठमाडौंमा सम्पन्न राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थेबेले बालेनतर्फ संकेत गर्दै ती भूभागबारे स्पष्ट वक्तव्य आवश्यक रहेको बताउनुभयो। उहाँले प्रश्न गर्नुभयो,
“हुनेवाला प्रधानमन्त्री भन्नुहुन्छ, तर लिपुलेक र लिम्पियाधुराबारे तपाईंको धारणा के हो ? लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई नेपालको नक्सामा समावेश गरेका छौँ कि छैनौँ? अब यस विषयमा तपाईंको स्पष्ट स्टेटमेन्ट आउनैपर्छ।”
अध्यक्ष थेबेले आगामी आम निर्वाचनपछि देशको राजनीतिक दिशा निर्धारण हुने उल्लेख गर्दै नेपाली समाजलाई सुखी र समृद्धिको आधार दिन सक्ने ठोस नीति र दृष्टिकोण प्रस्तुत गर्ने समय आएको बताउनुभयो।
नयाँ भनिएका राजनीतिक दलहरूप्रति संकेत गर्दै उहाँले ठोस एजेन्डा र स्पष्ट दृष्टिकोणको अभाव रहेको टिप्पणी गर्नुभयो। “नयाँ दलहरूसँग एजेन्डा छैन। एजेन्डा भएको भए आम सञ्चारमाध्यमले बहसका लागि बोलाउँदा किन नआउने? एजेन्डा भए पो बहसमा उत्रिनु,” उहाँले भन्नुभयो।
एमाले नेतृत्वमा भएका उपलब्धिहरूको चर्चा गर्दै अध्यक्ष थेबेले ऊर्जा, शिक्षा र सुशासनका क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको दाबी गर्नुभयो। “राणा कालमा ६ प्रतिशत जनताले मात्र बिजुली पाउँथे। आज ९८ प्रतिशत नागरिक विद्युतको पहुँचमा पुगिसकेका छन्,” उहाँले भन्नुभयो, “सबै सार्वजनिक विद्यालयमा आईटी विकास गरिएको छ। भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिएर हामी अघि बढिरहेका छौँ।”
अध्यक्ष थेबेले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताका विषयमा लोकप्रिय नाराभन्दा स्पष्ट, सुसंगत र जिम्मेवार नीतिगत धारणा आवश्यक रहेकोमा जोड दिनुभयो।
उहाँको अभिव्यक्तिलाई राष्ट्रिय मुद्दामा नयाँ दल र नेताहरूको भूमिकामाथि प्रश्न उठाउने राजनीतिक सन्देशका रूपमा हेरिएको छ। अब यस विषयमा बालेनज्यू वा रास्वपाबाट कस्तो प्रतिक्रिया आउँछ भन्नेमा राजनीतिक वृत्तको चासो बढेको छ।









प्रतिक्रिया