काठमाडौँ, १६ माघ ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीज्यूले निरङ्कुश तथा जहानियाँ राणा शासनविरुद्ध संघर्ष गर्दै लोकतन्त्र स्थापनाका लागि जीवन आहुति दिने अमर शहीदहरूको सम्मानपूर्वक स्मरण गर्नुभएको छ।
शहीद दिवसको सन्दर्भमा अध्यक्ष ओलीज्यूले वि.सं. १९९७ मा प्रजातन्त्रको पक्षमा आवाज उठाएको अभियोगमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई राणा शासनले मृत्युदण्ड दिएको उल्लेख गर्नुभयो। उहाँका अनुसार उक्त घटनासँगै नेपालमा लोकतान्त्रिक आन्दोलनको बीऊ रोपिएको थियो, जसले क्रमशः जनताको अधिकार र स्वतन्त्रताको मार्ग प्रशस्त गर्यो।
आजको दिन सामान्यतया क्यालेन्डरको एउटा मिति जस्तो देखिए पनि इतिहासलाई फर्केर हेर्दा वर्तमानमा नागरिकहरूले उपभोग गरिरहेको स्वतन्त्रता कसरी प्राप्त भयो भन्ने यथार्थलाई स्मरण गर्न आवश्यक रहेको अध्यक्ष ओलीज्यूको भनाइ छ।
उहाँले निरङ्कुश शासनको अन्त्य गर्दै लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलन कम्युनिस्ट र कांग्रेसबीचको संयुक्त संघर्षको परिणाम भएको उल्लेख गर्दै यस्तो ऐतिहासिक विरासतलाई सधैँ सम्मानका साथ सम्झिरहनुपर्नेमा जोड दिनुभयो।









प्रतिक्रिया