बालेनसँगै अछाम पुगेका पत्रकार सिटौला अचानक ढलेपछि सेनाको जहाजमा काठमाडौं ल्याइँदै

अछाम, १६ माघ । सुदुरपश्चिम भ्रमणमा रहेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहसँगै गएका पत्रकार दिनेश सिटौला अचानक बेहोश भएपछि काठमाडौं पठाइएको छ । उहाँलाई लिएर नेपाली सेनाको जहाज भर्खरै काठमाडौं उडेको हो । बालेनको टिम अछामको मंगलसेन जाँदै गर्दा बाटोमा चिया खान आज बिहान ९ः३० बजेतिर गाडी रोकिएको थियो । यो स्थानमा अछामका रास्वपा उम्मेदवार भुपदेव शाहको घर नजिकै रहेको छ ।

गाडीबाट ओर्लिन लाग्दा अचानक बेहोस भएर ढलेपछि उहाँलाई अछाम जिल्ला अस्पताल लगियो । तर, चिकित्सकहरुले अवस्था क्रिटिकल भएको भन्दै काठमाडौं लैजान सुझाएका थिए । अछामबाट सेनाको हेलिकोप्टरमा राखेर सुर्खेत पुर्‍याइयो । सुर्खेतमा सेनाको जहाजबाट काठमाडौं ल्याइएको हो ।सिटौला चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष हुन् ।

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार  १२ : २३  बजे