अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं, १६ माघ ।  सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको अदम्य साहस, उच्च चेतना र दृढ संकल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताउनुभएको छ।

सहिद दिवसको अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको हो।

सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ, “उहाँहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ। अब कुनै आमाको काख फेरि रित्तिन नपरोस्।” न्याय, समानता, उत्तरदायी शासन तथा उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुहुने वीर योद्धाहरूलाई समेत उहाँले नमन गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माण गर्नु प्रत्येक शासकको अनिवार्य दायित्व भएको स्मरण गराउनुभएको छ। सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै लोकतन्त्र, सुशासन र नागरिक अधिकारको संरक्षण गर्नु नै सहिदहरूप्रति सच्चा सम्मान हुने उहाँको भनाइ छ।

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार  ०९ : ३२  बजे