काठमाडौँ, १० माघ । पश्चिम नेपाल हिउँले छपक्कै भएको छ। गण्डकी प्रदेशदेखि पश्चिमका हिमाली जिल्लामा बिहानैदेखि हिमपात भइरहेको छ।
विशेष गरेर सदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली जिल्लामा हिउँले बस्तीहरू सेताम्मेत भएका छन्। हुम्ला, जुम्ला, बैतडी, डडेल्धरालगायत जिल्लामा हिमपात भएको छ।गतभदौदेखि वर्षात् नभएको हुम्लामा वर्षाभएसँगै यस वर्षकै पहिलो पटक हिमपात भएको छ। निकै लामो समय हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थाले पछि खुसी भएका छन्।हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ। जिल्लाको तल्लो क्षेत्रमा धैरै पानी परेपश्चात् हिमपात हुने गर्दछ भने माथिल्लो हुम्ला सिमकोट नाम्खालगायतका क्षेत्रमा अहिले हिमपात भइरहेको छ।
हिमपातले जनजिवन कष्टकर बनेको छ। हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउपालिका हुँदै हिल्सा जाने बाटो पूर्णरुपमा बन्द भएको छ।सुदूरपश्चिम प्रदेशकै पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ। बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौँलगायतका क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो । वर्षासँगै हिमपात भइरहे पनि राजमार्गहरूमा कुनै समस्या नरहेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो।

दार्चुलाको व्यास र अपिहिमाल क्षेत्रमा हिमपात भएको छ। डडेल्धुरा सदरमुकामका साथै हगुल्टे, साहुखर्क, भातकाँडा क्षेत्रमा हिमपात भएको प्रहरीले जनाएको छ। यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन्।गएको चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँबालीलगायतका हिउँदे बाली सुक्दै गएका थिए। हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका छन्।जुम्लाको सदरमुकाम खलङ्गा बजार क्षेत्र लगायत ठाउँमा पनि हिमपात भएको छ। हिमपात भएपछि यहाँका किसानहरू खेती सप्रने आशामा खुसी भएका छन्।लुम्बिनी प्रदेशको एकमात्र जिल्ला रुकुम पूर्वमा पनि हिमपात भएको छ।
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ।लोकमार्ग अवरुद्ध हुँदा सवारीसाधन वारपार गर्न सकिरहेका छैनन्। यस खण्डमा काठमाडौँबाट छुटेका बसहरू फसेको भन्ने खबर आएसँगै इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा टोली खटाएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले जानकारी दिनुभयो । रुकुम पूर्वको हिमाली तथा उच्च लेकाली क्षेत्रहरूमा गए रातिदेखि हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा वर्षा भएको छ। हिमपातका कारण चिसोले मानिसहरूको जनजीवन प्रभावित भइरहेको छ भने लामो समयको अन्तरालमा भएको वर्षा र हिमपातको कारण किसानहरू खुसी भएका छन्।आकाशेपानीको भरमा खेती गरिरहेका किसानको पानी नपर्दा गहुँ बाली सुकिसकेको थियो। लामो समयपछि पानी पर्दा खेतीपातीलाई राहत मिलेको सिस्ने गाउँपालिका–५ का विमल बिसीले बताउनुभयो । गण्डकी प्रदेशको मनाङ, मुस्ताङसँगै म्याग्दी जिल्लासमेत हिमपात भइरहेको छ।









प्रतिक्रिया