काठमाडौं, १० माघ । काठमाडौं महानगरपालिकाको मेयर पदको कार्यकाल सकिनु एक वर्षभन्दा अघि नै राजीनामा दिएर झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनुभएका बालेन साहले मनोनयनपत्र दर्ता गर्न जाँदा आफैं चलाउनुभएको करिब ८ करोड रुपैयाँ मूल्यको डिफेन्डर गाडी अहिले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा तीव्र बहसको विषय बनेको छ।
यातायात व्यवस्था विभागबाट प्राप्त कागजातअनुसार उक्त डिफेन्डर गाडी त्रिमूर्ति इन्डष्ट्रिज प्रालि को नाममा दर्ता रहेको छ। उक्त कम्पनीका सञ्चालक नितेश मालपानी हुन्, जो विवादास्पद व्यापारी कमलकिशोर मालपानी का छोरा हुन्। कमलकिशोर मालपानी करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्स प्रालि र गुट्खा उत्पादक श्रीराम टोबाको कम्पनीका सञ्चालकका रूपमा चिनिन्छन्।
कागजातअनुसार उक्त गाडी नबिल बैंक लिमिटेडमा धितो राखिएको छ र ऋणीका रूपमा पनि त्रिमूर्ति इन्डष्ट्रिज प्रालि नै उल्लेख छ। यसले गाडी निजी कम्पनीको स्वामित्वमा रहेको पुष्टि गर्छ। तर उक्त गाडी बालेन साहले प्रयोग गरेपछि यसको स्रोत र प्रयोजनबारे प्रश्न उठ्न थालेका छन्।
एक स्रोतका अनुसार, बालेनलाई उक्त गाडी दिन कमलकिशोर मालपानी सुरुमा इच्छुक हुनुहुन्थेन। तर यशोदा फुड्स र श्रीराम टोबाको कम्पनीमा १८ प्रतिशत सेयर निःशुल्क लिएका विवादास्पद बिचौलिया दीपक भट्ट को दबाबपछि गाडी उपहारस्वरूप दिन लगाइएको दाबी गरिएको छ। “अब भावी प्रधानमन्त्री बालेन हो, गाडी दिनुपर्छ,” भन्दै भट्टले दबाब दिएको स्रोतको भनाइ छ।
यो विषय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र बहस चलेको छ। केही प्रयोगकर्ताले गाडीको स्रोतबारे प्रश्न उठाएका छन् भने बालेनका समर्थकहरूले प्रश्नकर्तामाथि तल्लोस्तरको गालीगलौज गरिरहेको आरोप लागेको छ। अर्कोतर्फ, विवादास्पद जंकफुड र गुट्खा व्यवसायसँग जोडिएको ८ करोडको गाडी प्रयोग गरेर चुनाव प्रचारमा निस्कनु सुशासन र पारदर्शिताको नारासँग मेल नखाने भन्दै आलोचना गर्नेहरू पनि देखिएका छन्।
कमलकिशोर मालपानी स्वयं लामो समयदेखि विवादमा रहेका व्यापारी हुन्। स्रोतहरूका अनुसार उहाँ भारतबाट विराटनगर हुँदै भैरहवा पुगेका र सुरुमा सामान्य तलबमा काम गर्दै गुट्खा तस्करीमा संलग्न भएको दाबी गरिएको छ। पछि उहाँले नेपालमै गुट्खा उत्पादन सुरु गर्नुभएको र अन्तःशुल्क नतिरी करोडौं रुपैयाँ आर्जन गरेको आरोप लाग्दै आएको छ।
मालपानीले पछि करेन्ट चाउचाउ र मसला उत्पादनमा हात हाल्नुभयो। वाईवाई चाउचाउसँग हुबहु मिल्ने गरी करेन्ट चाउचाउ उत्पादन गर्दा ट्रेडमार्क चोरीको मुद्दा उद्योग विभागमा परेको थियो। वाईवाई चाउचाउका सञ्चालक विनोद चौधरीले दायर गर्नुभएको उक्त मुद्दा उद्योग विभागका तत्कालीन अधिकारीहरूलाई प्रभावमा पारेर जितिएको आरोपसमेत सार्वजनिक रूपमा उठ्दै आएको छ। यही क्रममा दीपक भट्टलाई यशोदा फुड्स र श्रीराम टोबाको कम्पनीमा १८ प्रतिशत सेयर दिइएको बताइन्छ।
गत वैशाखमा वाणिज्य विभागले श्रीराम टोबाको कम्पनीसँग सम्बन्धित पशुपति इन्टरनेशनल बिजनेस प्रालि मा छापा हानी सिलबन्दी गरेको थियो। कम तौलको गुट्खा बिक्री गरेको आरोपमा छापा मारिएको विभागले जनाएको थियो। त्यतिबेला वाणिज्य विभागका महानिर्देशक कुमारप्रसाद दाहालले मालपानी समूहविरुद्ध कारबाही अघि बढाउन खोज्दा विभिन्न शक्तिकेन्द्रबाट दबाब आएपछि उहाँलाई सरुवा गरिएको आरोप पनि लागेको छ।
यही पृष्ठभूमिमा बालेन साहले उक्त डिफेन्डर गाडी झापादेखि पाथीभरासम्म चलाएर गएको विषय सार्वजनिक भएपछि बहस चर्किएको हो। सामाजिक सञ्जाल प्रयोगकर्ता ईश्वर अर्यालले “बालेनलाई कसले दियो ८ करोडको डिफेन्डर?” भन्ने प्रश्न उठाएपछि यो विषय झनै चर्चामा आएको हो। अर्यालले प्रश्न उठाएपछि आफूलाई सामाजिक सञ्जालमा गालीगलौज गरिएको भन्दै थप स्टाटससमेत सार्वजनिक गर्नुभएको छ।
बालेन साह झापा–५ बाट उम्मेदवार बनेका छन्। समर्थकहरू उहाँलाई वैकल्पिक राजनीतिका प्रतिनिधिका रूपमा हेर्छन् भने आलोचकहरू विवादास्पद व्यापारीसँग जोडिएको गाडी प्रयोग गर्नु राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न भएको बताउँछन्।









प्रतिक्रिया