मन्थली, ९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रामेछापमा चुनावी सरगर्मी बढेको छ । गत मंगलवार मनोनयन दर्ता गरेसंगै चुनावी रस्सारस्सी चलेको हो ।
गाउँघर, चिया पसलदेखी सामाजिक संजालमा १७ जनाले उम्मेदवारी दर्ता गराएका मध्येका जित्ने सम्भावित उम्मेदवारको चर्चा हुन थालेको छ । निर्वाचन अधिकृतको कार्यालय रामेछापमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी कुल १७ जना उम्मेदवारले उम्मेदवारी दर्तासँगै जिल्लामा सबै राजनीतिक दलको सक्रियता र उत्साह देखिन थालेको छ ।
जिल्लामा मुख्य राजनीतिक दलहरू एमाले, कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी,नेशनल रिपब्लिक पार्टी, उज्यालो नेपाल पार्टी र स्वतन्त्र उम्मेदवारहरू विजयीको लागि मैदानमा छन् । रामेछाप संघीय राजधानीबाट नजिक भौगोलिक रूपले विकट भएकोले यहाँ संगठन र ब्यक्ति प्रभावले जीत र हारको अनुमान गर्न सकिन्छ ।
ढुङ्गेलको सम्भावना बलियो
एमालेबाट केन्द्रीय सदस्य माधवप्रसाद ढुङ्गेलले उम्मेदवारी दिनुभएको छ । उहाँ अनेरास्ववियुको इकाई, जिल्ला हुँदै पूर्व केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय युवा परिषद् नेपालका कार्यकारी उपाध्यक्ष भएर दुई कार्यकाल काम गरिसक्नुभएको नेता हो । ढुङ्गेल पहिलो पटक जनप्रतिनिधिको रूपमा निर्वाचनमा सहभागी हुनुभएको हो ।
यस पटक रामेछापमा बलियो संगठन र नयाँ अनुहार, स्वच्छ, शालीन र बौद्धिक युवा भएकोले ढुङ्गेलको जीत्ने सम्भावना बलियो आंकलन गरिएको छ ।
आफ्नैबाट खड्कालाई असहयोग हुने सम्भावना
आफ्नैबाट खड्कालाई असहयोग रामेछापमा संगठन बलियो नेपाली कांग्रेस पनी अग्रपंतीमा आउँछ । कांग्रेसबाट पुराना नेता रामचन्द्र खड्काले टिकट हात पारेसँगै उम्मेदवारी दर्ता गराउनुभएको छ । खड्का २०७० सालको संविधानसभा निर्वाचनमा रामेछाप क्षेत्र नं. २ बाट उम्मेदवार बन्नुभएको थियो ।
शिक्षण पेसामा आबद्ध उहाँ लामो समय नेपाली कांग्रेस रामेछापको सभापति भएर नेतृत्वदायी भूमिकामा रहेर काम गरिसक्नुभएको छ । गगन थापा निकट खड़का वर्तमान जिल्ला सभापति पूर्ण बहादुर (कान्छाराम) तामाङ शेरबहादुर देउवा पक्षको भएकोले खड़कालाई पार्टी भित्रबाट घात हुने आशंका छ ।
कान्छारामले टिकट ल्याए भनेर प्रचार गरे पनि अन्तिममा उम्मेदवारी मनोनयन गर्ने दिन केन्द्रबाट खड़काले टिकट हात पारेकोले आफ्नैबाट घात हुने सम्भावना बढ़ी छ ।
श्रेष्ठ दोहोरिदा
नेपाली कम्युनिस्ट पार्टीबाट श्यामकुमार श्रेष्ठ (कुशल)ले टिकट हात पारेर उम्मेद्वार बन्नुभएको छ । प्रचण्ड निकट श्रेष्ठ २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए भने २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
२०७४ मा उहाँ गठबंधनबाट विजयी हासिल गर्नुभएको थियो । उहाँ पूर्व गृह राज्यमन्त्रीसमेत हो । श्रेष्ठ मन्त्री हुँदा आफ्नो श्रेत्रमा काम नगरेको आरोप छ । तत्कालीन नेकपा माओवादीका नेता कार्यकर्तासमेत श्रेष्ठसंग रुष्ट रहेको बेला माधव नेपालको संघीय समाजवादी मिसिँदा रामेछापमा मिश्रित प्रतिक्रिया छ ।
समाजवादीबाट होम बुढ़ाथोकीले टिकट पाउने आँकलन गरे पनि श्रेष्ठले नै टिकट हात पारे पश्चात् समाजवादीका केहि नेता एमालेमा घर फर्केका छन् भने जिल्लाका नेताहरू निष्क्रिय भएका छन् ।
नयाँमा भर कम
रामेछापमा राष्ट्रीय र क्षेत्रीय रूपमा सक्रिय राजनीति पार्टीबाट पनी मनोनयन दर्ताले चर्चा कमाएको छ । यसैगरी अहिले बढी चर्चा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. कृष्णहरि बुढाथोकीको चर्चा पनी बढेको छ । २ दशक लामो बैंक जागीर छोढेर संसद बन्ने हुटहुट्टीले बुढाथोकीलाई रास्वपामा पुर्याएको छ ।
राष्ट्रीय स्तरमा चर्चा कमाएको यस चुनावको आइडल रास्वपाले रामेछापमा गतिलो उम्मेदवार पाएको छ । माओवादी नजिक बुढाथोकीको परिवारमा एमाले बाहुल्य थियो । मन्थली–१२ का बुढाथोकीका दाई वडा अध्यक्षमा पराजित भएका थिए । रास्वपाको चर्चाकोबीच बुढाथोकीले रामेछापमा सामाजिक क्षेत्रमा पनि सक्रिय रहेकोले राम्रै भोट ल्याउने आंकलन गरिएको छ ।
रामेछापमा अन्य १७ जनामध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोरे तामाङले उम्मेदवारी दिनभएको छ । नेपाल मजदुर किसान पार्टीकी केशरी श्रेष्ठ एक मात्र महिला उम्मेदवार हुन् भने बाँकी १६ जना पुरुष रहेका छन् । स्वतन्त्र उम्मेदवारका रूपमा अरुण कार्की, बाबु काजी खड्का र सन्तोष घिमिरेले उम्मेदवारी दिनुभएको छ ।
अन्य दलहरूबाट श्रम संस्कृति पार्टीका ढालबहादुर खपाङी मगर, नेशनल रिपब्लिक पार्टीका यामबहादुर मोक्तान, उज्यालो नेपाल पार्टीका दीपबहादुर योन्जन, प्रगतिशील लोकतान्त्रिक पार्टीका बिरेन्द्र श्रेष्ठ, आम जनता पार्टीका पदमबहादुर तामाङ, मंगोल नेशनल अर्गनाइजेसनबाट विनोद घिसिङ तथा नेकपा (माओवादी) बाट यमुनबहादुर बस्नेत उम्मेदवार बन्नुभएको छ ।









प्रतिक्रिया