काठमाडौं, ६ पुस । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मनोनयन दर्ता गर्न मुख्य दलका शीर्ष नेताहरू आ–आफ्नो चुनावी क्षेत्रमा आज आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलका उम्मेदवारले उम्मेदवारी दर्ता गरेका हुन । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह झापाको क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
कांग्रेसका सभापति गगन थापाले विगतको काठमाण्डौ–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिँनुभएको छ । नेकपाका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यस पटक रुकुम पूर्वबाट उम्मेदवार बन्नुभएको छ । त्यस्तै नेकपाका सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि आफ्नो क्षेत्र रौतहट–१ बाट उम्मेदवारी बन्नुभएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र झलनाथ खनाल यस पटक उम्मेदवार नबन्ने हुनुभएको छ । एमालेका महासचिव शङ्कर पोखरेलले दाङ–२ बाट उम्मेदवारी दिनुभएको छ ।
रास्वपाका सभापति रवि लामिछाने चितवन–२ बाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । डा. बाबुराम भट्टराई गोरखा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बन्नुभएको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी–१ बाट उम्मेदवारी दिँनुभएको छ । उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ काठमाण्डौ–३, एमाले नेता ईश्वर पोखरेल काठमाण्डौ–५ र कांग्रेस नेता डा. शेखर कोइराला मोरङ क्षेत्र नम्बर–६ बाट उम्मेदवार बन्नुभएको छ ।जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी–२, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ बाट उम्मेदवार बन्नुभएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिंङ्देन झापा–३ बाट उम्मेदवार बन्नुभएको छ ।









प्रतिक्रिया