कांग्रेस–एमाले कमजोर बनाउन प्रधानमन्त्रीसहित अन्तर्राष्ट्रिय शक्ति लागे, हामी हेर्दैछौं –बस्नेत

काठमाडौं, ३ माघ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले नेपाली काँग्रेसको विभाजनमा प्रधानमन्त्री सुशीला कार्की आफैं संलग्न रहेको आरोप लगाउनुभएको छ ।शनिबार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचिव बस्नेतले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएर कानून विपरीत काम गरेको जिकिर गर्नुभयो ।

त्यसलाई काँग्रेस र एमालेमाथिको प्रहारको रुपमा आफनो पार्टीले लिएको उहाँको भनाइ छ । प्रधानमन्त्री कार्की र अन्तर्राष्ट्रिय शक्तिहरूले कांग्रेसलाई विभाजन गरेर रवि लामिछाने जस्तालाई बलियो बनाउने कुकर्म गरिरहेको समेत उहाँको आरोप छ । ‘जुन ढंगले सेटिङको आधारमा एक घण्टाको अन्तरालमा निर्वाचन आयोगले जे निर्णय गर्‍यो । त्यो बेठिक गर्‍यो भन्ने शेरबहादुर देउवाजीहरुले जे भन्नुभएको छ । त्यो कुरामा हाम्रो पनि समर्थन छ । र कांग्रेसको विभाजन भनेको लोकतन्त्र माथिको प्रहार हो,’ बस्नेतले भन्नुभयो, ‘कांग्रेस र एमाले जस्तो शक्तिलाई कमजोर बनाउने र रवि लामिछाने जस्ता बलियो बनाउने कुरामा सुशीला कार्की लगायतका अन्तर्राष्ट्रिय शक्तिहरू जुन ढंगले लागेका छन् । यो निकै गम्भिर विषय हो भन्ने हाम्रो निष्कर्ष हो । यसलाई हामीले धेरै गम्भिरताका साथ हेरेका छौँ ।’

प्रकाशित मिति: ३ माघ २०८२, शनिबार  २० : १०  बजे