“स्वास्थ्यसँग फास्टफुड” अभियानअन्तर्गत फास्ट फुड एसोसिएसन नेपालको पहिलो फुटसल कप सुरु

काठमाडौं, ४ पुस । फास्ट फुड व्यवसायीहरूको छाता संगठन फास्ट फुड एसोसिएसन नेपालले “स्वास्थ्यसँग फास्टफुड” भन्ने उद्देश्यसहित आफ्नो पहिलो फुटसल कप प्रतियोगिता आयोजना गरेको छ।

२०६३ सालमा स्थापना भई २०७४ मा संस्था दर्ता भएको उक्त एसोसिएसन गैरसरकारी, नाफारहित तथा गैरराजनीतिक संस्था हो। देशभर छरिएर रहेका फास्ट फुड व्यवसायीहरूलाई एउटै संगठनअन्तर्गत समेट्दै आएको संस्थाले व्यवसायिक एकता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ।

प्रतियोगितामा विभिन्न सात टोलीले सहभागीता जनाउने आयोजकले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा सगरमाथा स्ट्राइकर्स, धोवलागिरी योद्धा, मकालु किङ्स, मनास्लु लेजेण्ड्स, हिमचुली टाइगर्स, गणेश हिमाल वारियर्स र लाङटाङ किकर्स गरी सात टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न छन् । प्रतियोगिताको विजेता टोलीले ३० हजार, उपविजेता टोलीले २०, तेस्रो हुने टोलीले १० हजार र चौथो हुने टोलीले पाँच हजार पुरस्कार प्राप्त गर्ने छन् ।

‘स्वास्थ्यसँग फास्टफुड’ नारासहित आयोजना गरिएको प्रतियोगिता शनिबार विहान ९ बजेदेखि सुरु हुनेछ । एसोसिएसनले यसअघि पनि व्यवसायिक एकता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर खाद्य स्वच्छतासम्बन्धी सचेतनामूलक कार्यक्रमहरु, रक्तदान, भुकम्प तथा बाढी पिडितहरुलाई सहयोग जस्ता सामाजिक कार्यहरुगरेको छ । एक दिने प्रतियोगिता भोली (शनिबार) धुम्बाराहीस्थित सूर्य फुटबलमा हुने छ ।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार  ११ : ५८  बजे