भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएकामध्ये ७ जनाको पहिचान अझै हुन सकेन

काठमाडौं, ८ मंसिर ।  गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा काठमाण्डौमा ज्यान गुमाएकामध्ये सात जनाको अझै पहिचान खुल्न सकेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौंमा ४९ जनाको मृत्यु दर्ता भएकोमा उनीहरूमध्ये सात जनाको पहिचान नखुलेको परिसरका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।प्रहरीका अनुसार ती शवहरू पूर्णरूपमा डढेर चिन्न नसक्ने भएका छन् । उनीहरूको पहिचानका लागि डीएनए परीक्षण गर्न पठाएको एसपी भट्टराईले बताउनुभयो ।

काठमाण्डौ प्रहरी परिसरले भदौ २३ र २४ गतेको आन्दोलनसँग सम्बन्धित १ सय ४ वटा जाहेरी दर्ता गरेको जनाएको छ । परिसरले आज गरेको पत्रकार सम्मेलनमा एसपी भट्टराईले दर्ता भएका उजुरीमध्ये व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत तथा व्यापारिक प्रतिष्ठानका १६ वटा रहेको जानकारी दिनुभयो ।यस्तै कर्तव्य ज्यान, आपराधिक उपद्रव, चोरी, हातहतियार खरखजनासम्बन्धी, अभद्र व्यवहार र ज्यान मार्ने उद्योगसम्बन्धी १ सय ५४ वटा मुद्दा दर्ता भएको र दर्ता भएका मुद्दामा अहिलेसम्म २ सय ६७ जनालाई पक्राउ गरेको कार्यालयले जनाएको छ ।पक्राउ परेकामध्ये ८७ जनालाई हाजिरी जमानीमा छोडेर अनुसन्धान भइरहेको र १ सय १३ जनालाई न्यायिक हिरासतमा राखिएको छ । न्यायिक प्रक्रियामा पेस गरिएका अभियुक्तमध्ये २३ जना धरौटीमा रिहा भएका छन् भने ४३ जना पुर्पक्षका लागि थुनामा राखिएका छन् ।

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार  २० : ५७  बजे