‘जेनजी’ अभियन्ता ढुंगानाकै समूहबीच आपसमा विवाद हुँदा कार्यालयमा तोडफोड र हातपात

काठमाडौं,  मंसिर ४ । ‘जेनजी’ अभियन्ता मिराज ढुंगानाको समूहबीच आपसमा विवाद हुँदा काठमाडौंको नक्सालस्थित उहाको कार्यालयमा तोडफोड र हातपात गरिएको खुलेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, बुधबार (मंसिर ३) साँझ करिब ६ बजे ढुंगाना समूहका केही व्यक्तिहरू छलफल गर्ने भनेर त्यहाँ पुगेका थिए ।

परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईले उहाँकै समूहबीच आपसमा विवाद भएको बताउनुभयो । “उहाँहरू आफू आफूबीच विवाद भएपछि तोडफोड र सामान्य हातपात भएको हो । त्यसपछि प्रहरी पठाएका थियौँ,” उहाँले भन्नुभयो ।कार्यालय तोडफोड र हातपात गर्ने कुनै पार्टीका कार्यकर्ता नभई ढुंगाना समूहकै साथीहरू रहेको खुलेको प्रहरीले जनाएको छ । आक्रमणपछि ढुंगानाले आफ्नो कार्यालय र साथीहरूमाथि हातपात भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्नुभएको थियो । ढुंगानाले ‘गरी खान देऊ’ नामक समूह घोषणा गर्नुभएको थियो ।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार  १० : २१  बजे