सिमरा घटना अत्यन्तै दुःखद, लोकतन्त्रमा यस्तो अराजकता अस्वीकार्य–प्रधानमन्त्री कार्की

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सिमरामा भएको अराजक घटनालाई दुःखद भन्दै लोकतन्त्रमा यस्तो व्यवहार अस्वीकार्य रहेको बताउनुभएको छ । कार्कीले सबै नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न निर्देशन दिँदै शान्ति कायम गर्न गृह प्रशासनलाई उच्च संयममा रहन भन्नुभएको छ । उहाले युवाहरूको आक्रोशलाई गम्भीरताका साथ लिइने बताउँदै लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न अपिल गर्नुभएको छ। प्रधानमन्त्री सुशीला कार्कीले सिमरामा बुधबार भएको घटनालाई अत्यन्तै दुःखद भन्दै लोकतन्त्रमा यस्तो अराजकता स्वीकार्य नहुने बताउनुभएको छ ।

बुधबार राति सामाजिक सञ्जालमार्फत् सिमरा घटनाबारे प्रतिक्रिया व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न निर्देशन दिएको उल्लेख गर्नुभएको छ। उहाँले लेख्नुभएको छ– ‘युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौं, अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो तर यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट होइन।’बुधबार सिमरामा एमाले कार्यकर्ता र जेनजी युवाहरूको झडपका कारण विमानस्थल बन्द भएको थियो भने कर्फ्यूको अवस्था सिर्जना भएको थियो।प्रधानमन्त्री कार्कीले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन दिएको बताउनुभएको छ। उहाँले लेख्नुभएको छ ‘लोकतान्त्रिक प्रणालीका माध्यमबाट मात्र युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिन्छ। त्यसैले म सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न हार्दिक अपिल गर्छु।’

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार  ०७ : ५०  बजे