मध्यरातमा दुर्गा प्रसाईं पक्राउ

काठमाडौं, २ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार मध्यरातमा भक्तपुरस्थित निवासबाटै मेडिकल व्यवसायी प्रसाईं पक्राउ पर्नुभएको हो । प्रसाईंका एक निकटस्थ सहयोगीका अनुसार सुतिसकेका प्रसाईंलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी टोली मध्यरातमा निवासमा पुगेको थियो ।

मेडिकल व्यवसायी प्रसाईंको निवासबाट उहाँलाई निकाल्दै गरिएको भिडियोसमेत सार्वजनिक भएको छ । भिडियोमा प्रसाईंले आफू गाडी चढ्दै गरेको खिच्न भनिरहनुभएको छ । उहाँले सोमबार दिउँसो पत्रकार सम्मलेन गर्नुभएको थियो। प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गर्नुभएको छ। आन्दोलनको तयारीमा रहेका उहाँ राति पक्राउ पर्नुभएको हो। यस अगाडि गृह मन्त्रालयमा प्रसाईंका तर्फबाट २६ बुँदे माग पत्र पेश भएको थियो। माग पूरा नभए शान्तिपूर्ण आन्दोलन हुने प्रतिबद्धता जनाएको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार बोलाएको सुरक्षा समिति बैठकमै पनि प्रसाईंलाई नियन्त्रणमा लिनेबारे छलफल भएको स्रोतको भनाई छ।

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार  ०६ : ५४  बजे