विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा १ जना पक्राउ

काठमाडौँ । प्रहरीको साइबर ब्युरोले विदेशी पर्यटकहरूलाई लक्षित गरेर अनलाइन माध्यमबाट ठगेको आरोपमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘अल्टिच्युड राइडर्स प्रालि’ का संस्थापक ४० वर्षीय विशु सिञ्जाली छन् ।

पोल्यान्डका १३ जना राइडर्सको लागी मोटरसाइकल राइड अन्य सपोर्ट समेतको प्याकेज दिने भनेर उनले ठगी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । नेपाल भ्रमण गर्ने सम्झौता भएको ७ दिनभित्र ३० प्रतिशत रकम माग गरेर भने बमोजिम सेवा नदिइकन सो कम्पनीका सञ्चालक सिञ्जाली फरार भएपछि नेपाल घुम्न आएका पोल्यान्डका नागरिकले प्रहरीमा जाहेरी दिएका थिए ।

आरोपी सिञ्जाली सुर्खेतको बराहताल गाउँपालिका–३ का स्थानीय हुन् । उनलाई कात्तिक २६ मा रोल्पाबाट पक्राउ गरेर पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले बताए ।

प्रकाशित मिति: २९ कार्तिक २०८२, शुक्रबार  १६ : ३६  बजे