आजदेखि सेवाबाट निवृत्त भएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङलाई लगाइयो स्थान हद, विदेश जान राेक 

काठमाडौं, कात्तिक २७ । भाद्र २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित ‘जाँचबुझ आयोगले तत्कालीन नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई कुनै पनि समयमा आयोगमा उपस्थित हुन सक्ने अवस्थाको सुनिश्चितता गर्न विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले खापुङलाई आयोगमा उपस्थित हुनुपर्ने सम्भावना रहेको भन्दै आजैदेखि लागू हुने गरी उहाँको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । साथै, आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका नछोड्ने व्यवस्था मिलाउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय पनि गरिएको छ ।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आजदेखि सेवाबाट निवृत्त हुनुभएका नेपाल प्रहरीका महानिरीक्षक श्री चन्द्रकुवेर खापुङलाई भाद्र २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुनाले विदेश भ्रमणमा रोक लगाइएको हो ।’

विज्ञप्तिमा आयोगले खापुङलाई सो निर्णयको जानकारी दिने उल्लेख छ । साथै, घटनाका क्रममा कसैको क्षति विवरण आयोगमा नपुगेको भए आयोगको इमेल [email protected] वा सिंहदरबारस्थित आयोगको कार्यालयमा प्रत्यक्ष रूपमा उपलब्ध गराउन पनि सबैलाई अनुरोध गरिएको छ ।

आयोगले आफ्नो विज्ञप्ति र सूचना गृह मन्त्रालयको वेबसाइटमार्फत हेर्न सकिने जनाएको छ ।

भाद्र २३ र २४ गते देशका विभिन्न स्थानमा भएको विरोध प्रदर्शन, प्रहरी हस्तक्षेप र त्यसक्रममा भएको जनधन क्षतिका विषयमा सत्य तथ्य पत्ता लगाउन सरकारले आयोग गठन गरेको थियो । आयोग हाल प्रमाण संकलन र प्रत्यक्ष सरोकारवालाहरूको बयान लिँदै अनुसन्धान अघि बढाइरहेको  जनाएकाे छ ।

प्रकाशित मिति: २८ कार्तिक २०८२, बिहिबार  १३ : २५  बजे