दुर्गा प्रसाईं समूहले गृहमन्त्रीलाई बुझायो २७ बुँदे मागपत्र

काठमाडौं, २६ कात्तिक । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे मागपत्र बुझाएको छ ।बुधबार (कात्तिक २६) बिहान गृहमन्त्री ओमप्रकाश अर्यालयसहित सहभागी वार्तापछि सो समूहले २७ बुँदे मागपत्र बुझाएको हो । वार्तामा प्रसाईं स्वयं भने सहभागी हुनुभएन । उहाँको समूहबाट वार्ताका लागि गएका माधव प्रसाद खतिवडाले मागपत्र बुझाउनुभएको थियो । मागपत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्नेलगायतका विषय समेटिएका छन् । त्यस्तै, प्रदेश संरचना खारेजीदेखि संविधान खारेज हुनुपर्नेसम्मका माग प्रसाईंले राख्नुभएको छ ।प्रसाईंले मंसिर ७ गतेदेखि देशभर चरणबद्ध प्रदर्शन गर्ने घोषणा गर्नुभएको छ । आन्दोलन घोषणा गरेपछि गृह मन्त्रालयले उहाँलाई वार्ताका लागि बोलाएको थियो ।तर, आजको वार्तामा प्रसाईं आफू भने उपस्थित हुनुभएन । प्रधानमन्त्रीस्तिरीय वार्ताबाहेक अन्य वार्तामा आफू नबस्ने भन्दै उहाँले आज प्रतिनिधि पठाउनुभएको थियो ।वार्तामा आफूहरूका मागका बारेमा सामान्य छलफल भए पनि सहमति नभएको खतिवडाले बताउनुभयो। सरकारले आफूहरूका माग पूरा गर्ने प्रतिबद्धता जनाए पूर्वघोषित आन्दोलन फिर्ता लिने उहाँको भनाइ छ ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बुधबार  १३ : ५१  बजे