लोकतान्त्रिक आन्दोलनमा घनेन्द्र बस्नेतको योगदान अविस्मरणीय : ओली

काठमाडौं, असोज १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका योद्धा तथा पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

अध्यक्ष ओलीले बुधबार सामाजिक सञ्जालमार्फत बस्नेतको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा उहाँले पुर्‍याउनुभएको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ ।

ओलीले लामो जेलजीवन र यातनाका अनेकौँ शृङ्खला पार गर्दै बस्नेतलगायतका योद्धाले लोकतान्त्रिक अधिकार प्राप्तिका लागि संघर्ष गरेको स्मरण गर्नुभएको छ । उहाँले बस्नेतको संघर्ष र योगदान नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको इतिहासमा सधैँ सम्मानपूर्वक स्मरण भइरहने उल्लेख गर्नुभएको छ ।

यसैबीच, एमाले महासचिव शंकर पोखरेलले पनि बस्नेतसँग तीन दिनअघि भएको अन्तिम भेटको स्मरण गर्दै उहाँको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । पोखरेलले झापा आन्दोलनका योद्धा बस्नेतले कठिन परिस्थितिमा समेत आफ्नो राजनीतिक निष्ठा कायम राख्नुभएको उल्लेख गर्नुभएको छ ।

बस्नेतको बुधबार साँझ भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । भोजपुरको कुलुङमा जन्मिनुभएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक हुनुहुन्थ्यो । उहाँले पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षका क्रममा करिब १७ वर्ष जेलजीवन बिताउनुभएको थियो ।

बस्नेत एमालेबाट दुईपटक प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । एमाले विभाजनपछि उहाँ नेकपा एकीकृत समाजवादीमा आबद्ध भई केन्द्रीय उपाध्यक्षसमेत बन्नुभएको थियो ।

प्रकाशित मिति: १५ आश्विन २०८३, बिहिबार  ०८ : ०७  बजे