काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत आज देशभर वडा अधिवेशन गर्दैछ।
कांग्रेसको संस्थापन पक्षले असोज १८ गतेदेखि १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेका बेला देउवा पक्षले छुट्टै कार्यतालिका बनाएर समानान्तर रूपमा महाधिवेशन प्रक्रिया अघि बढाएको हो। देउवा पक्षले असोज १५ गते वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराएको छ।
देउवा पक्षको कार्यतालिकाअनुसार असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन र असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी छ। यसका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तथा विभिन्न जिल्लामा निर्वाचन संयोजक खटाइएको छ।
देउवा पक्षले कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढाएको भन्दै छुट्टै महाधिवेशन प्रक्रिया थालेको बताउँदै आएको छ। संस्थापन पक्षले भने आफ्नो निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाइरहेको छ।
देउवा पक्षीय १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशाङ्क कोइरालाले वडा अधिवेशनमा नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई सक्रियताका साथ सहभागी हुन अपिल गर्नुभएको छ। उहाँले वडा अधिवेशनलाई संगठनात्मक जीवन र लोकतान्त्रिक अभ्यासका दृष्टिले महत्वपूर्ण चरणका रूपमा लिन आग्रह गर्नुभएको छ।











प्रतिक्रिया