काठमाडौं, २४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र प्रतिबद्धताअनुसार काम गर्न नसके पार्टीले हस्तक्षेप गर्ने बताउनुभएको छ।
सरकारको कार्यशैली र स्थायित्वबारे धारणा राख्दै सभापति लामिछानेले सरकार आफ्नो बाटोबाट विचलित भए त्यसलाई पुनः सही दिशामा ल्याउने राजनीतिक क्षमता रास्वपासँग रहेको बताउनुभएको हो।
‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ। काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्टी हामीसँग छ। आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्छ,’ उहाँले भन्नुभयो।
उहाँले अहिले नै सरकार असफल भइसकेको अवस्था नरहेको स्पष्ट पार्दै त्यस्तो अवस्था आउन नदिन आफूहरू सचेत रहेको बताउनुभयो।
सरकार सञ्चालनको प्रक्रियालाई हवाई यात्रासँग तुलना गर्दै उहाँले कहिलेकाहीँ आउने प्राविधिक समस्या वा बाह्य अवरोधबाट आत्तिन नहुने बताउनुभयो। आम नागरिकलाई ढुक्क रहन आग्रह गर्दै सरकारलाई सही गन्तव्यमा पुर्याउने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो।
सभापति लामिछानेले सरकार गठन भएको चार महिना मात्र भएकाले अहिले नै पूर्ण मूल्याङ्कन गर्ने समय नभए पनि यस अवधिमा जनताले सकारात्मक परिवर्तनको स्पष्ट आभास पाउनुपर्ने बताउनुभयो।
नागरिकका सुझाव तथा गुनासालाई पार्टीले नजिकबाट सुनिरहेको उल्लेख गर्दै उहाँले वर्तमान अवस्थालाई लिएर चिन्तित नहुन आग्रह गर्नुभयो।
उहाँले रास्वपामा समाज परिवर्तनका लागि हुटहुटी भएका युवा, विज्ञ तथा व्यावसायिक व्यक्तित्वहरूको समूह रहेको दाबी गर्नुभयो। गैरराजनीतिक पृष्ठभूमिका विज्ञ तथा पेशेवरहरू देश परिवर्तनको उद्देश्यसहित राजनीतिमा जोडिनु महत्वपूर्ण अवसर भएको उहाँको भनाइ छ।
‘अप्ठ्यारो परिस्थितिलाई सम्हाल्न सक्ने राजनीतिक नेतृत्व र जिम्मेवारी हाम्रो पार्टीसँग छ। किनकि यो पार्टीमा केही गरौँ भन्ने हुटहुटी भएका युवाहरू छन्,’ उहाँले भन्नुभयो।
सभापति लामिछानेले वर्तमान सरकार नागरिककै सरकार भएको दाबी गर्दै इतिहासले दिएको जिम्मेवारी जनतासँगको सहकार्यमा सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले सरकार आफ्नो ‘लिक’ बाट बाहिरिए पुनः सही मार्गमा ल्याएर यात्रा सहज बनाउने जिम्मेवारी रास्वपाले निर्वाह गर्ने बताउनुभयो।







प्रतिक्रिया