काठमाडौं, २४ साउन । तीन दिनदेखि सम्पर्कविहीन कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत फेला पर्नुभएको छ।
६५ वर्षीय सिंहको शव आइतबार कपिलवस्तुको गोरुसिंगे जंगलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिनुभएको छ।
प्रहरीका अनुसार सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नै घरबाट निस्किनुभएको थियो। त्यसपछि उहाँ परिवार तथा आफन्तको सम्पर्कमा आउनुभएको थिएन।
सिंहले प्रयोग गर्दै आएको लु प्र ०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा रोकिराखेको अवस्थामा फेला परेको थियो।
उहाँको खोजीका लागि प्रहरीले गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको थियो। तीन दिनसम्म खोजी गरेपछि सिंहको शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ।
घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सिंह कपिलवस्तु नगरपालिकाका पूर्वमेयर हुनुका साथै नेपाली कांग्रेसका सक्रिय नेता हुनुहुन्थ्यो।












प्रतिक्रिया