आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ, २४ साउन । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने जनाइएको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्भावित जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार  ०८ : १४  बजे