एउटै ग्यास सिलिन्डर ७ हजार रुपैयाँमा बेचेको आरोपमा बिक्रेता पक्राउ

भक्तपुर, २३ साउन । भक्तपुरमा खाना पकाउने ग्यासको कालोबजारी गरेको आरोपमा एक व्यवसायी पक्राउ पर्नुभएको छ ।

चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित बारुदखाना चोकमा किराना पसल सञ्चालन गर्दै आउनुभएका तुलसीराम त्वयना पक्राउ पर्नुभएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उहाँले खाना पकाउने एलपी ग्यासको एक सिलिन्डर ७ हजार रुपैयाँमा बिक्री गरेको आरोप छ ।

विशेष सूचनाका आधारमा प्रहरी प्रभाग दुवाकोटबाट प्रहरी नायब निरीक्षक खिलबहादुर दुलालको नेतृत्वमा खटिएको टोलीले शनिबार बिहान उहाँलाई पक्राउ गरेको हो । पक्राउ परेका त्वयनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी वृत्त थिमिमा लगिएको प्रहरी निरीक्षक राजन थापाले जानकारी दिनुभएको छ ।

उपभोक्ताले अनलाइनमार्फत भुक्तानी गरी ग्यास खरिद गरेलगत्तै प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले पसलबाट भरिएका तीन थान ग्यास सिलिन्डरसमेत बरामद गरेको जनाएको छ ।

पछिल्लो समय भक्तपुरमा खाना पकाउने ग्यासको अभाव देखिएपछि केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने गरेको उपभोक्ताको गुनासो छ । ग्यासको कालोबजारी नियन्त्रणका लागि साना व्यवसायीसँगै ठूला व्यवसायीमाथि समेत निगरानी बढाउनुपर्ने सामाजिक अभियन्ताहरूको सुझाव छ ।

प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार  १७ : ४२  बजे