मनहराका सुकुम्वासीको चेतावनी : माग पूरा नभए भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रह

भक्तपुर, २३ साउन । भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थाबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै आन्दोलन घोषणा गरेका छन्।

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपाल, काठमाडौं उपत्यका विशेष समितिको आयोजनामा भएको कोणसभामार्फत मोर्चाले भदौ १२ गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह सुरु गर्ने चेतावनी दिएको हो।

मोर्चाले विस्थापित परिवारलाई भूस्वामित्वसहित स्थायी पुनर्स्थापना गर्नुपर्ने, घरटहरा तथा सामान भत्काउँदा भएको क्षतिको मूल्याङ्कन गरी उचित क्षतिपूर्ति दिनुपर्ने र प्रभावित परिवारसँग तत्काल संवाद गरी समयसीमासहितको पुनर्स्थापना योजना सार्वजनिक गर्नुपर्ने माग अघि सारेको छ।

त्यस्तै, होल्डिङ सेन्टरलाई अल्पकालीन व्यवस्थापनमा मात्र सीमित राख्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको विशेष संरक्षण सुनिश्चित गर्न मोर्चाले माग गरेको छ।

भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन, प्रमाणीकरण, नापजाँच तथा निस्सा वितरण प्रक्रिया अघि बढाउन पनि सरकारसँग आग्रह गरिएको छ।

मोर्चाले साउन २२ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ। विभिन्न स्थानीय तह तथा भूमि समस्या समाधान समितिका कार्यालयमा ज्ञापनपत्र बुझाउने, राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षण गराउने, भदौ ४ गते माइतीघर मण्डलामा खबरदारी सभा गर्ने र भदौ ७ गते नागरिक समाज, राजनीतिक दल, मानवअधिकारकर्मी, कानुन व्यवसायी, बुद्धिजीवी तथा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ।

मोर्चाका अनुसार भदौ १२ गतेदेखि अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह सुरु हुनेछ। माग सम्बोधन नभए आन्दोलन थप कठोर बनाउने चेतावनीसमेत मोर्चाले दिएको छ।

मोर्चाले थापाथली, शान्तिनगर, गैरीगाउँ, मनहरा र जडीबुुतीलगायत क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्वासी परिवारलाई वैकल्पिक व्यवस्थापन र कानुनी प्रक्रियाबिना बलपूर्वक विस्थापित गरिएको आरोप लगाएको छ।

मोर्चाका इन्चार्ज दल मर्दन कामी, अध्यक्ष कुमार राई र सचिव अरुण बस्नेतले जारी गरेको घोषणापत्रमा आवासलाई संवैधानिक अधिकारका रूपमा सुनिश्चित गर्दै सम्मानजनक भूस्वामित्वसहित पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।

प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार  १७ : २३  बजे