डाक्टर, नर्स कुटिएको पलाँता अस्पतालमा फेरि तोडफोड

कालिकोट, २३ साउन । शुक्रबार दिउँसो डाक्टर र नर्समाथि कुटपिट भएको कालिकोटको पलाँता अस्पतालमा राति फेरि तोडफोड भएको छ।

राति करिब सवा ९ बजे स्थानीय तपेन्द्र बम अस्पतालमा प्रवेश गरी कर्मचारीमाथि कुटपिट गर्दै तोडफोड गरेको प्रहरीले जनाएको छ।

बमले अस्पतालका अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डनलाई कुटपिट गरेका थिए। उनले अस्पतालको फार्मेसी, ओपिडीमा रहेको भिडियो स्क्यान मेसिन, भ्याक्सिन राख्ने फ्रिज, पंखा तथा झ्यालमा समेत क्षति पुर्‍याएको अस्पतालका मेडिकल अफिसर डा. अली हैदर राईनले जानकारी दिए।

फार्मेसीको ढोका फुटाएर भित्र प्रवेश गरी औषधि राखिएका दराज र र्‍याकसमेत तोडफोड गरिएको बताइएको छ। घटनाको सीसीटीभी फुटेजमा तोडफोडको दृश्य देखिएको अस्पतालले जनाएको छ।

यसअघि शुक्रबार दिउँसो पनि पलाँता गाउँपालिका–९ थिर्पुस्थित पलाँता अस्पतालमा मेडिकल अफिसर डा. अली हैदर राईन र स्टाफ नर्स शान्ता गिरीमाथि कुटपिट भएको थियो।

कुटपिट तथा तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले पलाँता–९ की ३२ वर्षीया मैना बम, स्थानीय तपेन्द्र बम, मैनाका पति सुशीलकुमार बम र उनका १३ वर्षीय छोरालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार  ११ : ४४  बजे