काठमाडौं, २२ साउन। नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा निर्माण गर्ने भनिएको डेडिकेटेड ट्रमा सेन्टरको निर्णय खारेज गर्न लागेको भन्दै प्रतिनिधिसभामा मौनधारण गर्नुभएको छ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले ट्रमा सेन्टर निर्माणका लागि २०७७ सालदेखि प्रक्रिया अघि बढाइएको र एक चरणमा २० करोड रुपैयाँ बजेटसमेत विनियोजन भएको जानकारी दिनुभयो। उहाँका अनुसार ट्रमा सेन्टर निर्माणका लागि चार बिघा जग्गा पनि छुट्याइसकिएको छ।
सांसद यादवले चालु आर्थिक वर्षको बजेटमा मधेश प्रदेशमा ट्रमा सेन्टर निर्माण गर्ने उल्लेख भए पनि स्वास्थ्यमन्त्रीले साउन १९ गतेको बैठकमा ढल्केबरको नाम हटाएर अन्य स्थानको नाम लिएको दाबी गर्नुभयो।
उहाँले ढल्केबरमै ट्रमा सेन्टर निर्माण हुनुपर्ने माग गर्दै सरकारको निर्णयको विरोधमा सदनमा दिनभर मौनधारण गर्ने घोषणा गर्नुभयो।
सांसद यादव मौनधारण गर्दै उभिरहेपछि सभामुखले उहाँलाई बस्न आग्रह गर्नुभएको थियो। तर उहाँले आफ्नो विरोध जारी राख्नुभएको थियो।







प्रतिक्रिया