प्रतिनिधिसभाको बैठक आज, चार विधेयक प्रस्तुत हुने

काठमाडौं, २२ साउन। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

कार्यसूचीअनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेश गर्नुहुनेछ।

यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।

त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ पनि प्रतिनिधिसभामा प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यसैबीच, आज अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कानून, न्याय तथा मानवअधिकार समिति र पूर्वाधार विकास समितिको बैठक पनि बस्दैछ। ती बैठकमा पर्यटन विधेयक, कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानवअधिकार अवस्था तथा विद्युत् वितरण लाइन र पोल व्यवस्थापनका कारण सडक निर्माणमा भएको ढिलाइजस्ता विषयमा छलफल हुने कार्यसूची रहेको छ।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार  ०९ : १७  बजे