काठमाडौं, २० साउन । नेकपा (एमाले)का सांसद क्षितिज थेबेले वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली श्रमिक रोजगार सम्झौता नै नपढी विदेश पुग्ने गरेको भन्दै सरकारको अभिमुखीकरण कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
प्रतिनिधिसभाअन्तर्गत उद्योग, वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिको बुधबार बसेको बैठकमा बोल्दै सांसद थेबेले श्रमिकलाई रोजगार सम्झौताका आधारभूत विषय स्पष्ट रूपमा बुझाएर मात्रै वैदेशिक रोजगारीमा पठाउनुपर्ने बताउनुभयो।
उहाँले श्रमिकहरू सम्झौतामा उल्लेख भएको तलब, सेवा–सुविधा तथा कामका सर्तसमेत नबुझी विदेश जाने अवस्था रहेको उल्लेख गर्दै अभिमुखीकरण कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नुभयो।
सांसद थेबेले भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका मुलुक पुगेका नेपाली श्रमिक श्रम स्वीकृति र कानुनी सुरक्षाबिना जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य भएको बताउनुभयो। यूएईस्थित नेपाली नियोगमार्फत श्रम स्वीकृति दिने प्रक्रिया सुरु गर्ने निर्णय भए पनि कार्यान्वयन हुन नसकेको भन्दै त्यसलाई तत्काल लागू गर्न उहाँले माग गर्नुभयो।
त्यसैगरी, श्रम स्वीकृति नवीकरण र सामाजिक सुरक्षा कोष (एसएसएफ)को सेवालाई एकीकृत प्रणालीमार्फत उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउँदै एउटै प्रणालीबाट सेवा उपलब्ध भए श्रमिकले अनावश्यक झन्झट र विभिन्न कार्यालय धाउनुपर्ने अवस्था अन्त्य हुने उहाँको भनाइ थियो।
उहाँले सरकार–सरकार (जीटुजी) प्रणालीमार्फत व्यवस्थित रूपमा घरेलु श्रमिक पठाउने व्यवस्था गर्न सकिने सुझाव पनि दिनुभयो।
सांसद थेबेले पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकको मृत्यु हुने संख्या बढ्दै गएको उल्लेख गर्दै श्रमिकको सुरक्षा, सचेतना र कानुनी संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।







प्रतिक्रिया