काठमाडौं, २० साउन । विराटनगरमा ५ सय किलो सुन लुकाइएको भन्ने सूचनाका आधारमा उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीले गरेको व्यापक खानतलासी विवादमा परेको छ। पाँच घण्टासम्म चलेको अपरेशनमा कुनै पनि अवैध वस्तु फेला नपरेपछि प्रहरीको सूचना प्रमाणीकरण र अनुसन्धान प्रक्रियामाथि प्रश्न उठेको छ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालको नेतृत्वमा सोमबार बिहान विराटनगर महानगरपालिका–७ स्थित मुन्दडा निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। अपरेशनका क्रममा ड्रोन, एक दर्जनभन्दा बढी प्रहरीका सवारीसाधन परिचालन गर्नुका साथै आसपासको क्षेत्रसमेत नियन्त्रणमा लिइएको थियो।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी शेखर खनालले सूचना पूर्ण रूपमा प्रमाणीकरण नगरी ठूलो संख्यामा प्रहरी परिचालन गर्नु, ड्रोन प्रयोग गर्नु तथा सडक नै बन्द गरेर अपरेशन सञ्चालन गर्नु प्रक्रियागत रूपमा उपयुक्त नभएको स्वीकार गर्नुभएको छ। उहाँका अनुसार प्रारम्भमै सादा पोसाकमा गोप्य अनुसन्धान गर्न निर्देशन दिइएको भए पनि त्यसअनुसार काम नभएको देखिएको छ।
घटनापछि उद्योगी–व्यवसायीहरूले गलत सूचनाका आधारमा छापा मारेर व्यवसायीलाई आतंकित बनाइएको भन्दै विरोध जनाएका छन्। त्यसपछि डीआईजी खनालले विराटनगरका उद्योगी–व्यवसायीसँग छलफल गर्दै प्रक्रियागत कमजोरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै, मोरङ प्रहरी प्रमुख एसपी कटुवालसँग २४ घण्टाभित्र स्पष्टीकरण मागिएको पनि उहाँले जानकारी दिनुभयो।
प्रहरीका अनुसार लिखित उजुरीका आधारमा उद्योगीको घरमा ठूलो परिमाणमा सुन, नगद र हातहतियार रहेको सूचना प्राप्त भएपछि कानुनी प्रक्रिया पूरा गरी खानतलासी गरिएको थियो। तर घरका कोठादेखि पानीको ट्यांकी र भान्सासम्म खोजी गर्दा पनि कुनै शंकास्पद वस्तु फेला परेन।
यसबीच केही सुरक्षा स्रोतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हुँदै गृहमन्त्रालय र प्रहरी मुख्यालयमार्फत अपरेशनको निर्देशन आएको दाबी गरेका छन्। तर डीआईजी खनालले माथिल्लो तहबाट निर्देशन आएको भन्ने दाबीको पुष्टि नभएको स्पष्ट पार्नुभएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले विशेष सूचनाका आधारमा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गरिएको र कुनै अवैध सामग्री फेला नपरेको स्वीकार गर्नुभएको छ। एसपी कटुवालले पनि लिखित गोप्य सूचनाका आधारमा अनुसन्धान गरिएको उल्लेख गर्दै सबै अपरेशन अपेक्षाअनुसार सफल नहुने प्रतिक्रिया दिनुभएको छ।
पछिल्ला केही महिनायता मोरङ प्रहरीले विशेष सूचनाका आधारमा सञ्चालन गरेका अवैध हातहतियार, फरार अभियुक्त तथा सट्टेबाजीसम्बन्धी केही अन्य अपरेशन पनि निष्कर्षविहीन बनेपछि प्रहरीको सूचना प्रमाणीकरण प्रणाली र अनुसन्धानको प्रभावकारितामाथि थप प्रश्न उठ्न थालेको छ।







प्रतिक्रिया