काठमाडौं, २० साउन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता, जवाफदेहिता र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा पूर्णरूपमा असफल भएको निष्कर्ष निकालेको छ।
पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता **देवराज चालिसे**ले सरकारविरुद्ध १५ बुँदे आरोप सार्वजनिक गर्दै सरकारका कमजोरीका कारण जनविश्वास निरन्तर खस्किएको दाबी गर्नुभयो।
कांग्रेसले सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्ज घटनामा राज्य संयमित हुन नसकेको र बल प्रयोग गरेको आरोप लगाउँदै सरकारले गठन गरेको छानबिन समितिप्रति असन्तुष्टि जनाएको छ। घटनाको निष्पक्ष छानबिनका लागि स्वतन्त्र उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसले माग गरेको छ।
त्यस्तै, भदौ २३ र २४ गतेका घटनाबारे मानव अधिकार आयोगले औँल्याएका दोषीलाई सरकारले आफूअनुकूल आयोग गठन गरेर उन्मुक्ति दिन खोजेको आरोप पनि कांग्रेसले लगाएको छ।
पत्रकार सम्मेलनमा कांग्रेसले पार्टी सभापति गगन कुमार थापा तथा सञ्चारकर्मीमाथि गृह मन्त्रालयको संरक्षणमा निगरानी र त्रास सिर्जना गरिएको, साथै माइतीघरबाट प्रश्न उठाउने युवा अभियन्ताहरूलाई पक्राउ गरेर विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरिएको दाबी गर्दै यस्ता गतिविधि तत्काल रोक्न सरकारलाई चेतावनी दिएको छ।
यस्तै, राहदानी खरिद प्रकरणमा प्रधानमन्त्रीको सचिवालयको भूमिकामाथि प्रश्न उठाउँदै जर्मन र फ्रान्सेली कम्पनीसँगको विवादबारे तथ्य सार्वजनिक गर्न कांग्रेसले माग गरेको छ।
गृहमन्त्री सुधन गुरुङमाथि लागेका आरोपको निष्पक्ष अनुसन्धान नगरी जिम्मेवारी दिइएको भन्दै कांग्रेसले सरकारको नियतमाथि पनि प्रश्न उठाएको छ।
कांग्रेसले गौरीबहादुर आयोगको प्रतिवेदन सार्वजनिक गर्न, सुकुम्वासी, किसान र महँगीका समस्या समाधानमा प्रभावकारी कदम चाल्न तथा प्रचारमुखी गतिविधि छाडेर परिणाममुखी काम गर्न सरकारलाई आग्रह गरेको छ।







प्रतिक्रिया