काठमाडौं, २० साउन । यमनको तट नजिकै लाल सागरमा भारतीय झण्डा बोकेको एक व्यावसायिक जहाजमाथि इरानसमर्थित हुथी विद्रोहीले आक्रमण गरेका छन्। विस्फोटक पदार्थ बोकेको आत्मघाती डुंगामार्फत गरिएको आक्रमणपछि जहाज डुबेको भए पनि जहाजमा सवार सबै १३ जना भारतीय नागरिकको सकुशल उद्धार गरिएको छ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनाको कडा निन्दा गरेको छ। मन्त्रालयका अनुसार ‘एमएसभी फैजे नूर–ए–औलिया’ नामक जहाजमा भएको आक्रमणपछि रियादस्थित भारतीय दूतावासले उद्धार र चालक दलको सुरक्षाका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ।
पछिल्लो समय लाल सागर क्षेत्रमा व्यावसायिक जहाजमाथि आक्रमणका घटना बढिरहेका छन्। यसअघि पनि भारततर्फ आउँदै गरेका जहाजहरू लक्षित भएका थिए।
यता, हुथी विद्रोहीको धम्कीपछि साउदी अरबका ६ वटा सुपरट्यांकरले आफ्नो समुद्री मार्ग परिवर्तन गरेका छन्। ती जहाजले लाल सागर र बाब अल–मन्देब जलडमरूमध्य हुँदै जाने छोटो मार्ग छाडेर अफ्रिकाको दक्षिणी भाग हुँदै लामो समुद्री मार्ग रोजेका छन्।
लगातारका आक्रमण र मार्ग परिवर्तनका घटनाले विश्व व्यापारका लागि महत्वपूर्ण मानिने लाल सागर क्षेत्रमा समुद्री सुरक्षाप्रति अन्तर्राष्ट्रिय चिन्ता थप बढाएको छ।







प्रतिक्रिया