व्यवसायीको घरमा छापा प्रकरण : मोरङका एसपी कवित कटवालसँग २४ घण्टाभित्र स्पष्टीकरण माग

काठमाडौं, १९ साउन । व्यवसायी बेनीगोपाल मुन्दडाको घरमा छापा मारिएको घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख (एसपी) कवित कटवालसँग प्रदेश प्रहरी कार्यालय कोशीले स्पष्टीकरण मागेको छ।

प्रदेश प्रहरी कार्यालयले एसपी कटवाललाई २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिँदै छापा मार्नुको आधार, प्राप्त सूचनाको स्रोत तथा कुनै प्रमाण फेला नपर्नुको कारण स्पष्ट पार्न भनेको हो।

कोशी प्रदेश प्रहरी कार्यालयका एक उच्च अधिकारीका अनुसार, व्यवसायीको घरमा छापा मार्ने निर्णय कुन आधारमा गरिएको र छापाका क्रममा कुनै आपत्तिजनक सामग्री वा प्रमाण फेला नपर्नुको कारणबारे विस्तृत विवरणसहित लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ।

मोरङ प्रहरीले सोमबार विराटनगरका व्यवसायी बेनीगोपाल मुन्दडाको निवासमा छापा मारेको थियो। तर छापाका क्रममा कुनै प्रमाण फेला नपरेपछि पर्याप्त आधारबिना व्यवसायीको घरमा छापा मारिएको भन्दै व्यापारी समुदायबाट व्यापक आलोचना भएको छ।

यस घटनापछि कोशी प्रदेश प्रहरी कार्यालयले आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको हो। प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी शेखर खनालले पनि आक्रोशित व्यापारीहरूसँग छलफल गरिरहनुभएको बताइएको छ।

व्यवसायीको घरमा गरिएको प्रहरी कारबाही र त्यसपछि स्पष्टीकरण मागिएको घटनालाई लिएर प्रहरी संगठनभित्र समेत चासो बढेको छ। अब एसपी कटवालले पेस गर्ने स्पष्टीकरणका आधारमा प्रदेश प्रहरी कार्यालयले थप निर्णय लिने जनाइएको छ।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार  २१ : ४४  बजे