काठमाडौं, १९ साउन । नेकपाका सांसद रमेश मल्लले राहदानी विभागमा सेवाग्राहीको लामो लाइनलाई लिएर सरकारको आलोचना गर्नुभएको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सरकारले पासपोर्ट घरसम्मै पुर्याउने प्रतिबद्धता जनाए पनि अहिले पासपोर्ट लिनेको लाइन नै घरसम्म पुगेको भन्दै व्यंग्य गर्नुभयो।
उहाँले राहदानी विभाग मात्र होइन, अन्य सरकारी सेवा प्रदायक कार्यालयहरूमा पनि सर्वसाधारणले लामो लाइन र सास्ती व्यहोर्नुपरेको उल्लेख गर्नुभयो। साथै खाना पकाउने ग्यास र किसानका लागि मलको अभाव अझै कायम रहेको तथा महँगीका कारण नागरिक थप समस्यामा परेको बताउनुभयो।
सांसद मल्लले चिकित्सा शिक्षाको प्रवेश परीक्षामा भएको ढिलाइप्रति पनि असन्तुष्टि जनाउँदै चिकित्सा शिक्षा आयोगमा रिक्त निर्देशकहरूको तत्काल नियुक्ति गरी प्रवेश परीक्षासहित सम्पूर्ण शैक्षिक प्रक्रिया शीघ्र अघि बढाउन सरकारसँग माग गर्नुभयो।







प्रतिक्रिया