काठमाडौं, १८ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेल ले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गठन र विघटनबारे गहिरो समीक्षा नगरी वामपन्थी एकता अघि बढाउँदा त्यसले कुनै सार्थकता नपाउने बताउनुभएको छ।
सोमबार काठमाडौंमा आयोजित २४औँ बोत्ले स्मृति दिवस कार्यक्रममा उहाँले नेकपाको गठन र विघटन नेपालको वामपन्थी आन्दोलनलाई कमजोर बनाउने महत्वपूर्ण परिघटना भएको उल्लेख गर्दै त्यसबाट पाठ सिकेर मात्र एकताको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राख्नुभयो।
महासचिव पोखरेलले नेताहरूबीचको सहमतिलाई मात्र आधार बनाएर गरिएको एकता दिगो नहुने बताउँदै कार्यकर्ताको भावना, साझा नीति र कार्ययोजनामा आधारित एकताले मात्र वाम आन्दोलनलाई बलियो बनाउन सक्ने बताउनुभयो।
उहाँले नेपालको कम्युनिस्ट आन्दोलन कमजोर हुनुको प्रमुख कारण नेताहरूबीचको विवाद रहेको उल्लेख गर्दै आन्दोलनको पुनर्जागरणका लागि व्यक्तिकेन्द्रित होइन, नीतिकेन्द्रित एकताको आवश्यकता औँल्याउनुभयो।
उहाँले लोकतान्त्रिक व्यवस्थामाथि चुनौती बढिरहेका बेला लोकतन्त्र स्थापनाका लागि संघर्ष गरेका राजनीतिक शक्तिहरू एकजुट भएर लोकतान्त्रिक प्रणालीको रक्षा गर्नु आजको आवश्यकता भएको बताउनुभयो।







प्रतिक्रिया