सप्तरी, १८ साउन । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी रहेको निषेधाज्ञा सोमबार बिहान १० बजेदेखि पूर्ण रूपमा हटाएको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि दुई समुदायबीच उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै जिल्लामा कर्फ्यु तथा निषेधाज्ञा जारी गरिएको थियो।
प्रशासनका अनुसार जिल्लाको शान्ति–सुरक्षा अवस्था सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको हो।
आइतबार जिल्ला प्रशासनको समन्वयमा राजविराजसहित जिल्लाका विभिन्न स्थानमा शान्ति तथा सद्भाव र्याली आयोजना गरिएको थियो। र्यालीमा विभिन्न समुदाय, राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
जिल्ला प्रशासनले सबैलाई आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्न आग्रह गरेको छ। साथै सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने वा सामाजिक सद्भाव खलबल्याउने गतिविधिमा संलग्न नहुन सबैसँग अनुरोध गरेको छ।







प्रतिक्रिया