विराटनगर, १८ साउन। अवैध नगद तथा हुन्डी कारोबारको आशंकामा मोरङ प्रहरीले उद्योगी तथा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको घरमा पाँच घण्टासम्म खानतलासी गरेको छ।
प्रहरीले सोमबार बिहान करिब ४ः३० बजेदेखि मुन्दडाको घर र कार्यालयमा छापा मारेको थियो। तर, करिब पाँच घण्टाको खानतलासीपछि कुनै पनि शंकास्पद वस्तु फेला नपरेको प्रहरीले जनाएको छ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार विशेष सूचनाका आधारमा खानतलासी गरिएको भए पनि अनुसन्धानका क्रममा कुनै अवैध नगद वा शंकास्पद सामग्री फेला परेन।
प्रकाश मुन्दडा चाँदी व्यवसायसँग आबद्ध उद्योगी हुन्। प्रहरीले अवैध नगद र हुन्डी कारोबारसँग सम्बन्धित सूचनाका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ।
देवेनारा समूहका सदस्य वेनीगोपाल मुन्दडाले प्रहरीले कानुनी प्रक्रिया पूरा गरी खानतलासी गरेको र परिवारले पूर्ण सहयोग गरेको बताए। उनका अनुसार घर तथा कार्यालयका सबै स्थानमा खोजतलास गर्दा पनि केही फेला नपरेपछि प्रहरी फर्किएको हो।
प्रहरीले विशेष सूचनाका आधारमा अनुसन्धान गरिएको भए पनि हालसम्म कुनै प्रमाण फेला नपरेकाले थप आवश्यक अनुसन्धानबाहेक अन्य कारबाही अघि नबढाइएको जनाएको छ।







प्रतिक्रिया