काठमाडौं, २९ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो घरअगाडि गाडी पार्किङ गरेर गएको व्यक्ति प्रशासनकै सवारी साधनमा फर्किएको सूचना प्राप्त भएको दाबी गर्दै सरकारमाथि गम्भीर आरोप लगाउनुभएको छ।
पार्टीको एक कार्यक्रममा बोल्दै उहाँले बिहान करिब ७ बजे दुई जना व्यक्ति आफू पहिले बस्ने घरको गेटअगाडि गाडी राखेर गएको जानकारी स्थानीयबाट पाएको बताउनुभयो। उहाँका अनुसार ती व्यक्तिहरू प्रशासनको गाडी चढेर त्यहाँबाट गएको सूचना आफूले प्राप्त गर्नुभएको हो।
थापाले उक्त घटनालाई सामान्य पार्किङको विषय नभई प्रश्न उठाउने आवाजलाई तर्साउने र दबाब सिर्जना गर्ने प्रयासको रूपमा व्याख्या गर्नुभयो। उहाँले सरकार नै आलोचनात्मक आवाज रोक्न सक्रिय रहेको आरोपसमेत लगाउनुभयो।
उहाँले भन्नुभयो, “आज मेरो घरअगाडि गाडी राखिएको होइन, मेरो मुख थुन्न खोजिएको हो। प्रश्न गरिस् भने खबरदार भन्ने सन्देश दिन खोजिएको हो।”
सरकारले आलोचना गर्नेहरूको आवाज दबाउन खोजेको आरोप लगाउँदै थापाले यस्ता गतिविधिले लोकतान्त्रिक अधिकार र राजनीतिक हिम्मत कमजोर बनाउन नसक्ने स्पष्ट पार्नुभयो।
उहाँले नेपाली कांग्रेसले सरकारका गलत कार्यको आवश्यक ठाउँमा निरन्तर आलोचना गर्ने बताउँदै लोकतान्त्रिक अधिकारको रक्षामा पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पछिल्ला दिनहरूमा विभिन्न सञ्चारगृह तथा सार्वजनिक व्यक्तिका घरअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएका घटनालाई लिएर राजनीतिक दल, सञ्चारकर्मी र संसदीय समितिले समेत निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरिरहेका छन्।







प्रतिक्रिया