काठमाडौं, २९ असार । नेकपा (एमाले)ले काठमाडौंका विभिन्न सञ्चारगृहको मूल प्रवेशद्वार अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीको आवतजावतमा अवरोध सिर्जना गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यले सोमबार जारी गर्नुभएको वक्तव्यमा कान्तिपुर पब्लिकेसन, अनलाइनखबर र हिमालय टेलिभिजनलगायत सञ्चार संस्थाको गेटमै सवारीसाधन तेर्स्याएर पत्रकारलाई कार्यालय प्रवेश गर्न रोक्ने प्रयास लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमण भएको बताउनुभएको छ।
उहाँले संविधानले सुनिश्चित गरेको स्वतन्त्र रूपमा समाचार संकलन, सम्प्रेषण र प्रकाशन गर्न पाउने अधिकारमाथि हस्तक्षेप गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ।
आचार्यले सञ्चारगृह र पत्रकारलाई भयभित बनाउने तथा नियमित कामकाजमा अवरोध पुर्याउने यस्तो गतिविधि निन्दनीय मात्र नभई रहस्यमयसमेत रहेको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी संलग्नमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ।
उहाँले प्रेस स्वतन्त्रताको संरक्षण गर्नु राज्यको संवैधानिक दायित्व भएको उल्लेख गर्दै सञ्चारमाध्यममाथि कुनै पनि प्रकारको दबाब वा त्रास सिर्जना गर्ने प्रयास लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने धारणा व्यक्त गर्नुभएको छ।
एमालेले उक्त घटनाका सम्बन्धमा नेपाल पत्रकार महासंघले अघि सारेका मागप्रति आफ्नो पूर्ण समर्थन रहेको पनि जनाएको छ।







प्रतिक्रिया