काठमाडौं, २९ असार । गृहमन्त्री सुधन गुरुङलाई भेट्न सिंहदरबार प्रवेश गर्न नदिएको भन्दै निहारिका राजपुत र बिनु यादवले सोमबार सिंहदरबारको दक्षिण गेट बाहिर सडकमै बसेर विरोध जनाउनुभएको छ।
उहाँहरूले आफूहरूलाई मन्त्रालयभित्र प्रवेश गर्न नदिएको र आफ्ना कुरा राख्ने अवसरबाट वञ्चित गरिएको आरोप लगाउँदै गेटअगाडि धर्ना दिनुभएको हो।
निषेधित क्षेत्रमा बसेर विरोध जनाएपछि प्रहरीले उहाँहरूलाई गेटअगाडिबाट हटाई नजिकैको सुरक्षित स्थानमा राखेको जनाएको छ।
विरोधका क्रममा निहारिका राजपुतले आफूहरूमाथि अपराधीसरह व्यवहार गरिएको गुनासो गर्नुभयो। उहाँले आफूहरू न्यायको माग लिएर आएको भए पनि सम्बन्धित निकायले भेट्नसमेत नदिएको बताउनुभयो।
उल्लेखनीय छ, निहारिका राजपुतले यसअघि शिवराज श्रेष्ठविरुद्ध बलात्कारको आरोपमा मुद्दा दायर गर्नुभएको थियो। उक्त मुद्दा जिल्ला अदालत धनुषामा २०७९ माघ १७ गते न्यायाधीशको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो।
उहाँहरूको विरोधपछि सिंहदरबार क्षेत्र केहीबेर तनावग्रस्त बने पनि सुरक्षा व्यवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया