काठमाडौं, २८ असार । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बन्ने सहमति भएका बालेन्द्र शाह (बालेन) र पार्टी सभापति रवि लामिछानेबीच आइतबार चार घण्टाभन्दा लामो छलफल भएको छ।
प्रधानमन्त्री शाह सभापति लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित उहाँकै निवास पुग्नुभएको थियो। बिहान करिब ११:१५ बजे सुरु भएको भेटवार्ता दिउँसो करिब ३:१५ बजेसम्म चलेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार भेटमा समसामयिक राजनीतिक घटनाक्रम, सुकुम्बासी समस्या समाधान, सरकारको आगामी कार्ययोजना तथा पार्टी संगठन विस्तारका विषयमा विस्तृत छलफल भएको थियो।
हालै चितवनमा सम्पन्न रास्वपाको पहिलो महाधिवेशनपछि मनोनयन हुन बाँकी रहेका ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्यको टुंगो लगाउने विषयमा पनि दुवै नेताबीच परामर्श भएको बताइएको छ।
यसअघि नै प्रधानमन्त्री शाहलाई रास्वपाको वरिष्ठ नेताका रूपमा मनोनयन गर्ने सहमति भइसकेकाले त्यससम्बन्धी प्रक्रिया र पार्टीको आगामी रणनीतिबारे पनि छलफल केन्द्रित भएको स्रोतको भनाइ छ।
यद्यपि, भेटवार्तापछि प्रधानमन्त्री शाह वा सभापति लामिछानेको सचिवालयले छलफलका विषयवस्तुबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।







प्रतिक्रिया