भारतबाट जोगबनी हुँदै काठमाडौंसम्म हेरोइन तस्करी गर्ने गिरोह पक्राउ, ३२१ ग्राम खैरो हेरोइन बरामद

काठमाडौं, २८ साउन । लागूऔषध नियन्त्रण ब्यूरो (कोटेश्वर) ले भारतको जोगबनीबाट काठमाडौंसम्म खैरो हेरोइन ल्याई बिक्री–वितरण गर्दै आएको गिरोहका तीन जनालाई पक्राउ गरेको छ।

ब्यूरोले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा काठमाडौं उपत्यकामा खैरो हेरोइन बिक्री गर्दै आएका धादिङका अनिल श्रेष्ठ (२८) लाई ललितपुर महानगरपालिका–१९, हरिसिद्धिबाट २१ ग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको थियो। सोही अनुसन्धानका क्रममा उक्त लागूऔषध भारतको जोगबनीबाट काठमाडौंसम्म ल्याउने सञ्जालको पहिचान भएपछि थप दुई जनालाई नियन्त्रणमा लिइएको हो।

अनुसन्धानका क्रममा मोरङको कटहरी गाउँपालिका–४ का जावेद आलम (३६) र सर्लाहीको हरिवन नगरपालिका–७ का विकास भगत (३४) लाई ललितपुर–१९ हरिसिद्धिबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन, लागूऔषध तौल गर्न प्रयोग हुने डिजिटल तराजु, लागूऔषध ओसारपसारमा प्रयोग गरिएको ब्रेजा कार, ४० हजार रुपैयाँ नगद तथा चार थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

यसरी तीनै जनाबाट बरामद खैरो हेरोइनको कुल परिमाण ३२१ ग्राम पुगेको छ।

ब्यूरोका अनुसार पक्राउ परेका तीनै जनामाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार  १८ : ५२  बजे