दयाहाङ–मिरुनाको मुख्य भूमिका रहने ‘रातो घेरा : द रेड सर्कल’को शुभमुहूर्त, असार २५ बाट छायांकन

काठमाडौं, १९ असार । निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘रातो घेरा : द रेड सर्कल’ को बिहीबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा विधिवत शुभमुहूर्त गरिएको छ। पटकथा पूजा गर्दै चलचित्रको औपचारिक शुभारम्भ गरिएको निर्माण पक्षले जनाएको छ।

विश्राम फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन असार २५ गतेदेखि सुरु हुनेछ। फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा रहनेछन् भने करिब दुई दर्जन कलाकारको अभिनय रहनेछ। अधिकांश छायांकन काठमाडौं उपत्यकामा गरिने जनाइएको छ।

निर्माण पक्षका अनुसार चलचित्र आगामी मंसिर १८ गते देशभर प्रदर्शनमा आउनेछ।

निर्देशक अनिल बुढा मगरले चलचित्र सामाजिक तथा भावनात्मक कथामा आधारित रहेको र सत्य घटनाबाट प्रेरित भएर निर्माण गर्न लागिएको बताउनुभयो। निर्माता जीवन गुरुङले कथा, प्रस्तुति र प्राविधिक पक्षलाई उच्चस्तरको बनाउने उद्देश्यका साथ अनुभवी कलाकार तथा प्राविधिक टोलीलाई समेटिएको जानकारी दिनुभयो।

फिल्मका निर्माता जीवन गुरुङसँगै कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन रहेका छन्। सह–निर्मातामा सुमन गुरुङ र खेम राना छन्।

चलचित्रको संगीत मनोज थापा मगर र सागर आले मगरले तयार गर्नेछन् भने कथा तथा पटकथा राजु स्याङ्तानले लेख्नुभएको हो। छायांकन शिशिर बिसंखेले, निर्माण नियन्त्रण सन्देश राईले, कस्ट्युम डिजाइन जानकी कठायतले तथा प्रकाश व्यवस्थापन गुर्केश गुरुङले सम्हाल्नेछन्।

फिल्मको काठमाडौं उपत्यकाभित्रको वितरण अधिकार काफीया फिल्म्सका गोविन्द शाहीले तथा उपत्यकाबाहिरको वितरण कुवेर सिने डिष्ट्रिब्युसनले लिएको निर्माण पक्षले जनाएको छ।

चलचित्रमा दयाहाङ राई र मिरुना मगरसँगै रजनी गुरुङ, अरुण पुन, सुनिल पोखरेल, भोला सापकोटा, सुरज तमु, खड्गबहादुर पुन, सुस्मिता कुँवर, भावना खपाङ्गी मगर, कविता आले, विजय पौडेल, बलबहादुर गुरुङ, इंगी होपो कोइच सुनुवार, उमेश सुनाम, शेखर चापागाई, रामबाबु रेग्मी, सुवास गजुरेल, सुवास सिंह ठकुरी, रमिक सिंह ठकुरी, सुनिल तामाङ र डीबी गुरुङलगायत कलाकारहरूको अभिनय रहनेछ।

शुभमुहूर्त कार्यक्रममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले सत्य घटनामा आधारित सशक्त कथावस्तु बोकेको चलचित्रमा काम गर्न पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिनुभएको थियो।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार  १७ : ०९  बजे