काठमाडौं, १८ असार । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्मा सम्भावित हेरफेरसँगै आफ्नै सचिवालय पुनर्गठन गर्ने तयारी सुरु गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनपछि पार्टीको जिम्मेवारीमा निर्वाचित सचिवालयका सदस्यहरूलाई पार्टी काममा केन्द्रित गराउने गरी नयाँ टोली बनाउने तयारी भइरहेको स्रोतले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार राजनीतिक सल्लाहकार असीम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल, स्वकीय उपसचिव प्रकृति ढकाल तथा प्रमुख स्वकीय सचिव सुवास शर्मा सचिवालयबाट बाहिरिन सक्ने सम्भावना रहेको छ।
असीम शाह र सुदीप ढकाल रास्वपाको महाधिवेशनबाट क्रमशः सहमहामन्त्री र केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ भने प्रकृति ढकाल पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। उहाँहरूलाई पार्टीको सांगठनिक काममा केन्द्रित गराउने प्रधानमन्त्रीको योजना रहेको बताइएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री शाह सचिवालयमा अनुभवी र दक्ष व्यक्तिहरूलाई ल्याउने तयारीमा हुनुहुन्छ। अवकाशप्राप्त केही पूर्वसचिव तथा प्रशासनिक अनुभव भएका व्यक्तिहरूलाई पनि सचिवालयमा जिम्मेवारी दिने विषयमा गृहकार्य भइरहेको जनाइएको छ।
यसअघि मन्त्रिपरिषद्को निर्णयअनुसार प्रत्येक मन्त्रीले तीनदेखि पाँच जनासम्म सचिवसरहका सल्लाहकार नियुक्त गर्न पाउने व्यवस्था गरिएको छ। साथै, प्रधानमन्त्रीको स्वकीय सचिवालयमा प्रमुख स्वकीय सचिवसहित नौ सदस्य रहने प्रावधान पनि लागू भइसकेको छ।
उता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारको सयबुँदे कार्ययोजनाको प्रगति विवरण संकलन गरिरहेको छ। मन्त्रालयहरूबाट प्राप्त प्रतिवेदनका आधारमा असार मसान्तसम्म सरकारको कार्यसम्पादन मूल्यांकन सार्वजनिक गर्ने तयारी गरिएको छ।
स्रोतका अनुसार यही कार्यसम्पादन मूल्यांकन र सयबुँदे कार्ययोजनाको प्रगतिका आधारमा केही मन्त्रीहरूलाई पनि जिम्मेवारीबाट हटाउने वा मन्त्रालय हेरफेर गर्ने विषयमा प्रधानमन्त्री सकारात्मक देखिनुभएको छ।
यद्यपि प्रधानमन्त्री कार्यालयले सचिवालय तथा मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै औपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन। स्रोतहरूले यस विषयमा आन्तरिक छलफल जारी रहेको बताएका छन्।







प्रतिक्रिया