थमन विक हत्या प्रकरणमा पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

काठमाडौं, १८ असार । सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणमा दोषी ठहर भएका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ पर्नुभएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बिहीबार साँझ करिब ६ बजे प्रहरी टोलीले गौशाला नगरपालिका–५ स्थित एमाले पार्टी कार्यालय अगाडिबाट गौशाला–२ निगौल निवासी कोइरीलाई पक्राउ गरेको हो।

उहाँलाई २०७२ भदौ २५ गते ड्युटीमा रहेका असई थमन विकको हत्या प्रकरणसँग सम्बन्धित कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरले सुनाएको फैसलाअनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते जन्मकैदको फैसला सुनाएको उक्त मुद्दामा उच्च अदालत जनकपुरले २०८३ असार १७ गते पुनरावेदन सुनुवाइ गर्दै कोइरीको हकमा फैसला संशोधन गरी पाँच वर्ष कैद सजाय हुने निर्णय गरेको थियो।

उच्च अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएका कोइरीलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता पञ्चलाल गोलेले जानकारी दिनुभयो।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार  २१ : ४६  बजे